राष्ट्रपति इन्द्रजात्रामा
काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राका अवसरमा आज वसन्तपुर दरबार क्षेत्र सरिक भई ‘जीवित देवी’कुमारीको दर्शन गर्नुभएको छ ।
वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनाका साथै मुख्य पण्डितबाट प्रसाद ग्रहण गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन समेत गर्नुभयो । उहाँले स्थानीय नेवारी झाँकी, पहिरन र नृत्य प्रस्तुत अवलोकन गर्नुभएको थियो ।
समारोहमा प्रधानन्यायाधीश, सभामुख, कावा प्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा रथयात्रा, विभिन्न झाँकी तथा सांस्कृतिक बाजागाजाका साथमा नृत्य प्रस्तुत गरिएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्न हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत इन्द्रजात्रा पर्व मनाइन्छ ।
यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।
भक्तपुरमा इन्द्रजात्रा
भक्तपुरमा आज इन्द्र विमान खटयात्रा गरेर इन्द्रजात्रा मनाइएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई इन्द्रदह अर्थात् सिद्ध पोखरीमा पु¥याएर जात्रा मनाइने परम्परा रहेको इतिहासविद् एवम् संस्कृतविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
आज रातिसम्म इन्द्र दहमा मेला लाग्ने गर्छ । इन्द्रजात्राकै अवसरमा शुक्रबार बिहानदेखि नै इन्द्रदहमा स्नान गरेर दिनभर मेला लाग्ने उहाँले बताउनुभयो । नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण सो पोखरीको नाम इन्द्रदह रहन गएको इतिहासमा उल्लेख भएको श्रेष्ठले बताउनुभयो । रासस