राष्ट्र बैंक अर्धवार्षिक समीक्षाः मुलुकको आर्थिक अवस्था सुदृढ
काठमाडौँ, ७ फागुन । उपभोक्ता मूल्यवृद्धिमा आएको कमी, शोधनान्तर बचत, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि, राजस्व सङ्कलन समेत बढेपछि मुलुकको समग्र आर्थिक अवस्था सुदृढ देखिएको छ ।
नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक समीक्षामा मुलुकको समग्र आर्थिक तथा वित्तीय परिदृष्य सवल, सक्षम एवम् सुधारोन्मुख रहेको पाइएको हो ।
कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख हुँदै गएको छ ।
वर्तमान सरकार गठन भएलगत्तै मुलुकभर नै जनताले अनुभव गर्ने गरी विद्युत्भार कटौतीमा आएको कमी, ऊर्जा आपूर्तिमा आएको सहजता र औद्योगिक कच्चा पदार्थको आयातमा आएको सरलताले उद्योग क्षेत्रको क्षमता समेत बढेको पाइएको छ । खिम्ती–ढल्केवर विद्युत् प्रसारणलाइन निर्माण सम्पन्न भएसँगै ऊर्जा आपूर्ति सुदृढ भएको र यसबाट औद्योगिक वातावरणमा थप सुधार हुने केन्द्रीय बैंकले जनाएको छ ।
सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन सङ्ख्यामा ३५.४ प्रतिशत वृद्धि भई सात लाख २९ हजार ५५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनमा भएको सुधारको परिणाम होटल तथा रेस्टुराँ व्यवसाय विस्तार हुने अनुमान गरिएको छ । पछिल्लो दिनमा देखिएको नियमित विद्युत् आपूर्तिले समेत थप सकारात्मक वातावरण बनाएको छ ।
धान उत्पादनमा समेत उल्लेख्य वृद्धि भएकाले कृषि क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अन्य कृषि उत्पादन, पर्यटक आगमन र औद्योगिक उत्पादनमा हुने सुधारबाट समग्र आर्थिक वृद्धिको परिदृष्य सुदृढ देखिएको बैंकको समीक्षामा उल्लेख छ ।
उपभोक्ता मुद्रास्फीति दर घट्दै गएको, नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर शून्यमा झरेको छ तर पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा आउनसक्ने मूल्यवृद्धिले मुद्रास्फीतिमा केही चाप बढाउन सक्ने चुनौती थपिएको राष्ट्र बैंकको भनाइ छ ।
विप्रेषण आप्रवाहको घट्दो वृद्धिदर चिन्ताको विषय रहेको विश्लेषण गर्दै बैंकले सरकारी बजेट स्थिति मजबुत रहेको राजस्वमा उल्लेख्य वृद्धि भएबाट सरकारी बजेट बचतमा रहेको जनाएको छ । गत मसान्तसम्म राष्ट्रको ढुकुटीमा रु २ खर्ब १७ अर्ब ६० करोड नगद मौज्दात रहेको छ ।
चालु आवको छ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ओरालो लागेको छ । गत पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२ प्रतिशतमा सीमित भएको छ । चालु आवमा सरकारले उपभोक्ता मूल्यवृद्धि दर ७.५ प्रतिशत राख्ने लक्ष्य राखेको छ ।
यस्तै समीक्षा अवधिमा भारततर्फ १७.१ प्रतिशत, चीनतर्फ ५४.८ प्रतिशत र अन्य मुलुकतर्फ १०.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, जिआइ पाइपलगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिस्टर यार्न, ऊनी गलैँचा, तरकारीलगायतका वस्तुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात ६७.३ प्रतिशतले बढेर रु चार खर्ब ६४ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले घटेको थियो । यस्तै भारतबाट भएको आयात ९५ प्रतिशत, चीनबाट भएको आयात ३४.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २९.५ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एमएस विलेट, मेसिनरीलगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाईल, सुपारीलगायतका वस्तुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा भैरहवा, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएता पनि अन्य नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ ।
त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मेची भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका र कैलाली भन्सार कार्यालय नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । सो अवधिमा कुल वस्तु व्यापार घाटा ७४ प्रतिशतले बढी रु चार खर्ब २८ अर्ब ३३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो । रासस