लगानी विविधीकरणः म्युचुअल फन्डबारे जान्नै पर्ने कुरा
‘सबै अन्डा एउटै टोकरीमा नराख्नु’, अर्थात सम्पूर्ण लगानी एउटै क्षेत्रमा नगरेर नाफा मनग्गै र जोखिम कम गर्न लगानीलाई विभिन्न क्षेत्रमा लगानी गर्ने कार्य नै लगानी विविधीकरण हो । हामीले बोन्ड, शेयर, ऋणपत्र, सरकारी ट्रेजरी बिल्स, मुद्दती, म्युचुअल फन्ड, इन्सुरेन्स पोलिसी खरिद आदी गरेर फरक फरक ठाउमा लगानी गरेर आफ्नो पुजी सुरक्षित र जोखिम न्यूनीकरण गर्न सकिन्छ । लगानी विविधीकरण आफैमा लगानीकर्ताको रणनीतिजस्तो हो । नेपालमा लगानीका लागि हामी केही सीमित क्षेत्र भए पनि सेयरमा मात्र लगानी नगरेर आफ्नो पूँजीलाई अन्य क्षेत्रमा लगानी गरी नाफा कमाउने तथा लगानीको जोखिम कम गर्न सक्छौँ । यस्तै लगानीको अवसरको रुपमा म्युचुअल फन्डलाई लिन सकिन्छ ।
म्युचुअल फन्ड एउटा सामूहिक कोष हो, जसले सानाठूला लगानीकर्ताबाट पैसा उठाएर निश्चित उद्देश्यका लगानीयोग्य सामूहिक लगानी कोष स्थापना गर्छ र सोही ठाउँमा मात्र लगानी गर्छ । म्युचुअल फन्ड सम्पत्ति व्यवस्थापन कम्पनीले कोष स्थापनाका लागि स्किम बनाएर लगानीकर्तालाई लगानीको अवसर दिन्छ । यसरी बुझौँ, म्युचुअल फन्ड कोष (सम्पत्ति व्यवस्थापन कम्पनी) ले स–साना लगानीकर्ताको बचतलाई एकत्र गरेर नाफा आर्जन गर्न फेरि आफैले लगानी गरेर लगानीकर्तालाई वार्षिक रूपमा लाभांशको रुपमा नाफा वितरण गर्ने कार्य गर्छ । प्रत्येक म्युचुअल फन्डले विभिन्न उद्देश्यका लागि विभिन्न स्किममार्फत कोष स्थापना गरेर पुनः लगानी गर्दछन् । म्युचुअल फन्डको स्किम हेरेर एउटै उद्देश्य भएका लगानीकर्ताले म्युचुअल फन्ड खरिद गर्दछन् । प्रत्येक स्किम कोष व्यवस्थापकले (फन्ड म्यानेजर) आफूसँगै त्यो क्षेत्रका विज्ञ सहितको टोलीले कोष व्यवस्थापन गरिरहेका हुन्छन् । नेपालमा पहिलो पटक २०५० सालमा एन.सी.एम. म्युचुअल फन्ड–२०५० ले करिब १० करोड रुपैया बराबरको स्किम निष्काशन गरिएको थियो, तरलता व्यवस्थापन गर्न नसक्दा पछि सरकारले हस्तक्षेप गर्नु परेको थियो ।
म्युचुअल फन्ड एउटा सामूहिक कोष हो, जसले सानाठूला लगानीकर्ताबाट पैसा उठाएर निश्चित उद्देश्यका लगानीयोग्य सामूहिक लगानी कोष स्थापना गर्छ र सोही ठाउँमा मात्र लगानी गर्छ ।
नेपालमा म्युचुअल फन्ड कोष खडा गरेका सम्पत्ति व्यवस्थापन कम्पनीहरु जस्तै नबिल क्यापिटल, एनआइबीएल क्यापिटल, सिद्धार्थ क्यापिटल, एनएमबी क्यापिटल (नाम चलेका) हरूले विशेष गरी शेयर, डिबेन्चर, बोन्ड, विभिन्न वाणिज्य बैंकमा मुद्दतीमार्फत लगानी गर्ने गर्दछन् । स्किमको उद्देश्यअनुसार लगानी गर्छन् । यी सबै सम्पत्ति व्यवस्थापन कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) अन्तर्गत रहने गर्दछन् । कुनै पनि नयाँ स्किम जारी गर्दा बोर्डको पूर्वस्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । सम्पत्ति व्यवस्थापन कम्पनीले सर्वसाधारणहरुका लागि एक इकाइ मूल्य रु १० का हिसाबले आइपीओ जारी गर्दछन्, त्यसमा आवेदन दिएर लगानीकर्ताले लगानी गर्दछन् । आइपीओ नभरेकाले पछि चाहे भने दोस्रो बजारबाट खरिद गर्न सक्ने व्यवस्था छ ।
म्युचुअल फन्डको मूल्य निर्धारण गर्ने प्रक्रिया ‘खुद सम्पत्ति मूल्य’ (नेट एसेस्टस भ्यालु–नेभ) मार्फत हुने गर्दछ । म्युचुअल फन्डले लगानी गरेको कोषको मूल्य दैनिक रुपमा निर्धारण गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा लगानी गरेको कोषको वर्तमान बजार मूल्य दैनिक रूपमा हिसाब गरिन्छ, त्यसलाई हामी नेभ भनेर बुझ्दछौँ । जारी गरिएको म्युचुअल फन्ड स्किम कित्ताले सम्पूर्ण दायित्व र खर्च कटाएर बाँकी रहेको सम्पत्तिलाई भाग लगाएपछि नेभ निस्किन्छ । त्यसैले राम्रो व्यवस्थापन र खर्च काम गर्न सक्ने सम्पत्ति व्ययवस्थापन कम्पनीको म्युचुअल फन्डमा लगानी गर्दा राम्रो प्रतिफल आश गर्न सकिन्छ । प्रत्येक दिन नेभको हिसाब गरेपछि, लगानीकर्ताले १० रुपैयाँभन्दा माथिको मूल्यमा आफ्नो म्युचुअल फन्ड बेच्न सक्छन् । उदाहरणका लागि एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्डको जारी मूल्य १० रुपैयाँ थियो भने आज उसको नेभ १६ रुपैयाँ २६ पैसा रहेको छ, यस्तै एनआइबीएल समृद्धि फन्डको नेभ १३ रुपैयाँ ३६ पैसा कायम भएको छ । यदि कसैले एनएनबी सुलभ फन्ड दोस्रो बजारमा बेच्न चाह्यो भने ६ रुपैया २६ पैसा बढीमा बेचेर लाभ आर्जन गर्न सक्छ । नेभको मूल्य सेयरको मूल्य बजारमा आउने उतारचढावअनुसार तलमाथि हुने गर्दछ । अघिल्लो महिना बजार ३ हप्ता बियरिस हुँदा नेभमा असर परेको थियो, त्यसैले म्युचुअल फन्ड पूरै जोखिममुक्त छ भनेर भन्न सकिन्न ।
राम्रो व्यवस्थापन र खर्च काम गर्न सक्ने सम्पत्ति व्ययवस्थापन कम्पनीको म्युचुअल फन्डमा लगानी गर्दा राम्रो प्रतिफल आश गर्न सकिन्छ ।
म्युचुअल फन्ड भन्दैमा सबै स्किममा लगानी गर्दा जोखिम हुन सक्ने हुनाले आफूले राम्रो सम्पत्ति व्यवस्थापन कम्पनी छानेर लगानी गर्दा उपयुक्त हुनेछ र त्यस्ता कम्पनिले मुद्दती निक्षेपमा भन्दा राम्रो प्रतिफल दिन्छन् ।
म्युचुअल फन्ड धेरै किसिमका हुने गर्दछन् । सर्वसाधारण लगानीकर्ताले म्युचुअल फन्डको कस्तो खालको स्किम हो, कता लगानी गर्न कोष स्थापना गर्न लागेको जस्ता कुरा मेसो नपाउने हुनाले लगानी गर्न डराउने र म्युचुअल फन्डको नाम पनि अलि ‘फेन्सी’ किसिमको हुनाले के कस्तो हो भनेर बुझ्न कठिन मान्दछन् । कुनै कम्पनीको शेयरको विकल्प हो वा के हो भन्ने कुरा निकै भ्रममा रहने गर्दछन् । म्युचुअल फन्ड धेरै किसिमका हुने गर्दछन् र नेपालमा सबै किसिमका स्किम जारी गर्दैनन् । नेपालमा जारी हुने म्युचुअल फन्ड म्यादको हिसाबले २ किसिमको निष्काशन हुने गर्दछ, समय सीमा नभएको र अर्को अन्तरिमकालका लागि । अहिले जारी भएका म्युचुअल फन्ड अन्तरिम समयका लागि निष्काशन भएका छन्, जसको खरिद बिक्री दोस्रो बजारमा हुने गरेको छ । नेभ मूल्य धेरै नै तलमाथि हुने गर्दछ । अहिले सम्पत्ति व्यवस्थापन कम्पनीहरूले धितोपत्र (शेयर), राष्ट्र बैंकबाट जारी बोन्ड, मुद्दतीमा लगानी गरेका छन्, जसलाई हामी इक्विटी फन्ड स्किम, डेप्ट फन्ड स्किम, ब्यालेन्स्ड फन्ड स्किम भन्छौँ र उद्देश्यअनुसार वर्गीकरण गर्छौँ ।
म्युचुअल फन्डमा लगानी गर्नुको कारणः
१) कोषको व्यवस्थापन कुशलता हासिल गरेका व्यवस्थापक र त्यसै क्षेत्रमा कार्यरत कर्मचारीबाट हुने भएकोले म्युचुअल फन्ड कम जोखिमयुक्त लगानी मानिन्छ ।
२) आफ्नो लगानीलाई विविधीकरण गर्ने सजिलो उपायका रुपमा म्युचुअल फन्डलाई लिन सकिन्छ । आफ्नो लगानीअनुसार म्युचुअल फन्डको स्किम हेरेर आफ्नो पनि उद्देश्य मिल्यो भने लगानी गर्न सकिन्छ ।
३) म्युचुअल फन्डलाई कारोवार हुने दिन कुनै पनि बेला बेचेर तरलीकरण गर्न सकिन्छ, मुद्दती जस्तो समय अवघिअघि सम्झौता तोड्न नपाउने जस्तो नियम हुँदैन । बजारमा चलेको मूल्यमा बेच्न कुनै अप्ठ्यारो हुँदैन ।
४) साना लगानीकर्ताको लागि म्युचुअल फन्ड उपयुक्त्त लगानीको अवसर हो । अरु शेयरको मूल्यको तुलनामा धेरै नै कम मूल्यमा बजारमा किन्न पाइन्छ । १०,००० रुपैया मात्र हुने हो भने पनि १२ रुपैया मूल्यको म्युचुअल फन्ड छ भने ८३३ कित्ता खरिद गर्न सकिन्छ । वार्षिक डिभिडेन्ट र नेभमा मूल्य बढ्दा फाइदामा बेच्न पनि सकिन्छ ।
५) यो तुलनात्मक रूपमा अन्य सूचीकृत कम्पनीको शेयर भन्दा कम जोखिमयुक्त लगानी मानिन्छ ।
म्युचुअल फन्डबारे यी उल्लेखित विषय सामान्य जानकारीका लागि मात्र प्रस्तुत गरिएको हो । सुरक्षित लगानीका लागि लगानीकर्ताले स्वयम् आफै सम्पत्ति व्यवस्थापन कम्पनीको इतिहास, आगामी दिनमा प्रगति गर्ने योजना, फन्डको स्किम प्लान, उद्देश्य हेरेर मात्र लगानी गर्ने निर्णय गरेमा लगानी सुरक्षा हुन्छ ।
It is good information to the share investors. It is appreciable article. Thanks.