वार्षिक १० हजार टन तरकारी उत्पादन
फलेवास (पर्वत), १८ फागुन । जिल्लालाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ ।
जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीलाई वृहत्तर योजनाको रुपमा विकास गराउँदै आगामी केही वर्षभित्र जिल्लालाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको हो । जिल्लामा ८२० हेक्टर जग्गामा वार्षिक करिब १० हजार टन तरकारी उत्पादन हुँदै आएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीका अनुसार जिल्लाको पाङराङ, नाङलीवाङ, शालिजा, लेकफाँट, बनाँै, बाजुङ, माझफाँट, धाइरिङ, कुश्मा नगरपालिका, लङ्खु लगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरकारीखेती गरिँदै आएको छ ।
अन्य जिल्लाबाट गरिने तरकारीको आयात घट्दै गएको छ । मुख्य गरी आलु, गोलभेँडा, काउली, बन्दागोभी, गाँजर, मुला र करेलामा जिल्ला आत्मनिर्भर बन्दै गएको छ ।
बजार अभावले भूइँस्याउ कुहिँदै
आम्दानीको गतिलो स्रोत बनेको भूइँस्याउ बजार नपाएपछि कृषक चिन्तित बनेका छन् । बिक्री नहुँदा भूइँस्याउ कुहिँदै गएको छ । आलु र कोदोखेतीको ठाउँमा कृषकले विगत पाँच वर्षदेखि भूइँस्याउको व्यावसायिक खेती गर्दै आएका थिए ।
उत्पादन भए पनि बिक्री हुन नसक्दा कृषक समस्यामा परेका हुन् । लेखफाँट, शालिजा, बनौं, क्याङ, देउराली, भुकताङ्लेलगायतका ठाउँमा कृषकले व्यावसायिक रुपमा यसको खेती गर्दैआएका छन् ।
भूइँस्याउ जेठमा लगाएर माघ महिनामा उत्पादन गर्न सकिन्छ । बजार नपाउँदा कुहिन थालेको लेखफाँटका कृषक कृष्णबहादुर रञ्जितले बताउनुभयो । एउटा बोटमा करिब ९ किलोसम्म भूइँस्याउ उत्पादन हुन्छ । अहिले किसानले प्रतिकिलो रु ५० मा बिक्री गर्दैआएका छन् । रासस