वित्तीय साक्षरताः नेपालको सन्दर्भ
वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालय स्तरदेखि नै पाठ्यक्रममा समावेश गरेको र बालबालिका तथा किशोर किशोरीहरुलाई लक्षित गरेर उनीहरुको लागि वित्त भन्ने एउटा अभियान अन्तर्राष्ट्रिय आन्दोलनको रुपमा नै अघि बढेको छ । बालबालिका तथा युवामैत्री वित्तीय सेवाजन्य कार्यक्रम विभिन्न देशका कैयौं बैंक, वित्तीय संस्था तथा युवा तथा बालबालिकाहरुको हक हितसँग सम्बन्धित संस्थाहरु, सञ्चार माध्यमले स्वतः स्फूर्त स्वरुप तर्जुमा तथा कार्यान्वयन गर्दै आएका छन् ।
वित्तीय ज्ञानको उपर्युक्त महत्व एवम् अपरिहार्य तथा नेपालमा पनि अधिकांश बालबालिका र युवाहरु औपचारिक वित्तीय सेवाको पहुँचभन्दा बाहिर रहेको सन्दर्भमा तिनलाई वित्तीय पहुँचको दायरामा ल्याउन बालबालिका र युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी सशक्त अभियानको खाँचो महसुस गरिएको छ । विश्वका सबै बालबालिकाहरु प्राथमिक स्तरको शिक्षा सम्पन्न गरेर विद्यालयबाट निस्कँदासम्ममा बैंक तथा वित्तीय संस्थामा अनिवार्य रुपमा उनीहरुको बचत खाता हुनुपर्ने र त्यो खाता सही ढंगबाट संचालन गर्न सक्ने ज्ञान र सीप समेत हासिल हुनुपर्ने अवधारणा यस अभियानको हो । यस अभियानलाई सार्थक पार्न नेपालमा पनि हालैको वर्षहरुका वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन हुन थालेका छन् । यी कार्यक्रमले बालबालिका तथा युवालाई आय तथा बचत अभिवृद्धिका साथै लगानीका सन्दर्भमा उपयुक्त वित्तीय निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखेका हुन्छन् ।
वित्तीय साक्षरता अभियानको मूल पक्षका रुपमा वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण लाई वित्तीय सशक्तिकरणलाई लिइएको छ । विश्वभरका बालबालिकाहरुलाई मानव तथा आर्थिक अधिकारको संरक्षण र सम्वद्र्धन गर्न तथा आफ्नो अधिकारकोे गर्दा अरुको अधिकारको पनि आदर गर्ने, युवाहरुको रुचीलाई ध्यान दिई युवामैत्री व्यवसायहरु सञ्चालन गर्ने, सुरक्षा र नैतिकतालाई आत्मसात् गरेर आय आर्जन गर्न प्रेरणा प्रदान गर्दै बालबालिका र किशोर किशोरीलाई वित्तीय तथा सामाजिक परियोजनाका सकारात्मक पक्षबारे ज्ञान प्रदान गर्ने, सामाजिक सद्भाव अभिवृद्धिमा सकारात्मक प्रभाव पारी अमूल्य सीपहरुको सिर्जना जस्ता लक्ष्य यस अभियानको रहेको छ । त्यस्ता अभियानको बालबालिका तथा युवा वर्गको शारीरिक, बौद्धिक, नैतिक र सामाजिक मूल्यमा सकारात्मक प्रभाव परोस् भन्ने पनि अभियानको लक्ष्य रहेको छ ।
वित्तीय साक्षरता अभियानलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि विविध कार्यक्रमहरु तर्जुमा भई सञ्चालन हुन थालेका छन् । विभिन्न सरकारी, गैर सरकारी तथा निजी क्षेत्रबाट यस सम्बन्धमा पहल हुन थालेका छन् । र, यो सकारात्मक पक्ष हो । यद्यपि नेपालका लागि अहिलेसम्मका प्रयासहरु आवश्यकताको तुलनामा ज्यादै न्यून रहेका छन् । वित्तीय साक्षरताको यस आवश्यकता र महत्वलाई दृष्टिगत गरी नेपाल राष्ट्र बैंकले वित्तीय चेतना अभिवृद्धि कार्यक्रमलाई आफ्ना नीति तथा कार्यक्रमहरुमा उच्च प्राथमिकता दिंदै आएको छ । बैंकको रणनीतिक योजना २०१२–१६ मा मुलुकका महिला, द्वन्द्व पीडित, अल्प संख्यक जाति, विपन्न वर्ग, सीमान्तकृत समुदायलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसै गरी आर्र्थिक वर्ष २०६८/६९ सालदेखिका मौद्रिक नीतिहरुमा वित्तीय चेतना कार्यक्रमलाई महत्वकासाथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । उक्त मौद्रिक नीतिमा वित्तीय साक्षरता न्यून रहेको कारणबाट वित्तीय सेवा प्रभावकारी हुन नसकेको तथ्यलाई दृष्टिगत गरी यस सम्बन्धमा आवश्यक रणनीति तयार गर्ने, उल्लेख भएको र सोही अनुसार कार्य अघि बढिरहेको छ । यस पछिका मौद्रिक नीतिहरुमा समेत वित्तीय पहुँच अभिवृद्धि र वित्तीय चेतना प्रवद्र्धनले नेपाल राष्ट्र बैंकका नीतिहरुमा उच्च प्राथमिकता पाउँदै आएका छन् ।
साभारः विद्यार्थीसँग नेपाल राष्ट्र बैंक