वित्तीय साक्षरता किन र कसका लागि ?
सरकारले हालैमात्र वित्तीय क्षेत्र विकास रणनीति सार्वजनिक गरेको छ । यो नेपालमा सञ्चालित दोस्रो चरणको वित्तीय क्षेत्र सुधारका लागि महत्वपूर्ण कडी हो । पहिलो पटक समग्र वित्तीय क्षेत्रलाई एकीकृत रूपमा राष्ट्रिय अर्थतन्त्रको मूल खम्बाका रूपमा परिभाषित गर्दै कार्यान्वयनमा ल्याइएको यो रणनीतिका केही महत्वपूर्ण पक्षहरू छन् । जसमध्ये मुख्य पक्ष हो, वित्तीय क्षेत्रको पहुँच र योगदानलाई बढाउनु । नेपालको वित्तीय प्रणालीमा बैकिङ, बीमा, पूँजीबजार, गैर–बंैकिङ वित्तीय क्षेत्र र सहकारी गरी प्रमुख पाँच क्षेत्र छन् । अहिले पनि औपचारिक वित्तीय प्रणालीमा ६० प्रतिशत आमनागरिकको पहुँच छैन । ज्यादै दुर्गम तथा भौगोलिक रूपमा एक्लिएका ठाउँहरूमा भने वित्तीय सेवाको पहुँच पुग्न सकेको छैन । अनौपचारिक क्षेत्रबाट कर्जा लिने घरपरिवारको संख्या करिब २१ प्रतिशत छ । बैंकिङ प्रणालीमा अझै महिला सहभागिता उत्साहजनक छैन । औपचारिक वित्तीय प्रणालीको प्रगाढता आखिर किन कमजोर भएको हो त ? वित्तीय क्षेत्र विकास रणनीति र त्यसमा टेकेर अब बन्ने वित्त तथा मौद्रिक नीतिहरूले ध्यान दिनुपर्ने पक्ष नै यही हो ।
यो रणनीतिले अबलम्बन गरेका ९ उद्देश्यमध्ये, महिला तथा पुरुष, न्यून आय भएका तथा दुर्गम क्षेत्रका व्यक्तिहरूका लागि सहज र सुलभ किसिमले वित्तीय पहुँच पुरयाउन समावेशी वित्तीय प्रणालीको विकास गर्ने र विभिन्न प्रकारका अनौपचारिक वित्तीय कारोबारलाई औपचारिक वित्तीय प्रणालीको दायरामा ल्याउने उद्देश्य मूलतः वित्तीय साक्षरतासँग जोडिएका छन् । यद्यपि, वित्तीय साक्षरता बढाउने विषयलाई समेत छुट्टै उद्देश्यका रूपमा समेटिएको छ ।
जबसम्म आमनागरिकहरूमा वित्तीय साक्षरतामा सचेतना अभिवृद्धि हुँदैन, तबसम्म यस्ता रणनीतिहरूले राखेका सबै उद्देश्य पूरा हुने परिकल्पनासमेत गर्न सकिँदैन ।
वित्तीय साक्षरताको जड
अहिलेको अवस्थामा फरक–फरक समूहका लागि फरक–फरक प्रकृतिको वित्तीय साक्षरता अभियान चलाउनु पर्ने खाँचो छ ।
पहिलो समूहः अशिक्षित/अर्धशिक्षित ग्रामीण परिवेशका किसान/कृषि श्रमिक/न्यून आय भएका अन्य श्रमिक – यो यस्तो समूह हो, जसलाई हामीले आम्दानी, खर्च र बचतका आधारभूत पक्षदेखि नै सिकाउनु पर्ने हुन्छ । रेडियो, टेलिभिजनबाट चलाइने वित्तीय साक्षरताका कार्यक्रमले यिनलाई कुनै प्रभाव पार्दैन । गाउँमै गएर समूह बनाएर कुन–कुन माध्यमबाट आम्दानी हुन्छ, आम्दानी बढाउन के के गर्न सकिन्छ ? खर्चमा अत्यावश्यक खर्च कुन हो ? फजुल खर्च कुन हो ? खर्च घटाउने उपाय के के हुन सक्छ ? र, आम्दानी कसरी बढाउन सकिन्छ ? भन्ने विषयमा सचेतना अभिवृद्धि गर्नुपर्छ । नेपालमा गैर सरकारी संस्थाहरूले चलाएका सामुदायिक परिचालकको मोडललाई यसका लागि उपयोग गर्न सकिन्छ । बचतका कुरा मात्र होइन, ऋणका विषयमा पनि सचेतना बढाउनु पर्ने खाँचो छ । ऋण के हो ? किन लिने ? ब्याजदर कसरी निर्धारित हुन्छ ? किस्ता भनेको के हो ? भन्ने कुरा नबुझिकनै ऋण लिने साना किसान वा साना उद्यमी–व्यवसायी ऋणकै जन्जालमा परेर घरजग्गा लिलामीमा परेर उठिबास भएका थुप्रै पीडादायक कथाहरू हाम्रामाझ अझै सुनिन्छ ।
व्यक्तिबाट लिने ऋण, सहकारी संस्थाबाट लिने ऋण, लघुवित्त संस्थाबाट लिने ऋण र बैंकहरूबाट लिने ऋणका ब्याज संरचना फरक–फरक हुन्छ । ऋणको किस्ता वा ब्याज भुक्तानीको तालिका र संरचना पनि फरक हुन्छ । चक्रवर्ति ब्याजले उठिबास लागेको त सुनिन्छ, तर त्यसको खास कारण के हो भन्ने विषयमा धेरैलाई थाहै छैन । त्यसैले औपचारिक अर्थात् बैंक–वित्तीय संस्था र सहकारी क्षेत्रबाट ऋण लिँदाका फाइदा–बेफाइदाका विषयमा समेत यो समूहमा सुसूचित गराइनु पर्छ ।
दोस्रो समूहः विद्यालयस्तरका बालबालिका– वास्तवमा बालबालिकालाई हामीले प्रदान गर्ने शिक्षाले नै भोलि गएर समग्र देशको नीति निर्माण तहमा प्रत्यक्ष प्रभाव राख्न सक्छ । हाम्रो विद्यालय शिक्षाको पाठ्यक्रम समयानुकूल परिमार्जन त हुँदै गएको छ, तर अझै प्रभावकारी बन्न सकेको छैन । यदि विद्यालय स्तरमै वित्तीय साक्षरताको पाठ्यक्रम समावेश गर्ने हो भने त्यसले न केवल विद्यार्थीको भविष्यको बचत वा लगानीलाई सुरक्षित तुल्याउँछ, त्योभन्दा बाहेक तिनको परिवारमा, अभिभावकहरूलाई नै आफ्नो आर्थिक क्षमता बलियो पार्नका लागि पहल गर्न योग्य तुल्याउँछ । अहिलेको ढाँचाको पाठ्यक्रमले भन्दा सचित्र, ब्याख्यामूलक वित्तीय साक्षरताका पुस्तक–पुस्तिका तयार पारिनु आवश्यक छ ।
तेस्रो समूहः युवा– हाम्रो वित्तीय प्रगाढता अझै बलियो हुन नसक्नुको मूल कारण नै युवा वर्गमा वित्तीय साक्षरताको कमी हुनु हो । अशिक्षित वा अर्धशिक्षित मात्र होइन, शिक्षित युवामा समेत बचत, लगानी र ऋणबारे उपयुक्त ज्ञान नै छैन । विशेषतः युवाहरूमा वित्तीय योजना (प्लानिङ) बारे सुसूचित गरिनु पर्ने खाँचो छ । वित्तीय योजना भनेको शिक्षा, स्वास्थ्य, विवाह, घरजग्गा खरिद, जन्म–मृत्यु, कुनै प्राकृतिक विपत्तीजस्ता विषयमा हुनसक्ने आर्थिक खर्चको अनुमान गर्ने र त्यसका लागि रकम कसरी व्यवस्थापन गर्ने भन्ने योजना हो ।
वित्तीय योजनाका माध्यमबाट हामी आफ्नो आयस्तरलाई मध्यनजर गरेर भविष्यको खर्चलाई टार्नका लागि उपयुक्त वित्तीय व्यवस्थापन गर्न सक्छौं । यसबाट हामीलाई दोहोरो फाइदा हुन्छ– एक, भविष्यको आवश्यकताका लागि पैसा बचाउने दृष्टिबाट हामी कम आवश्यक वा फजुल खर्चलाई घटाउन सक्छौं भने अर्को, भविष्यको आवश्यकतलाई पूरा गर्नका लागि नियमितरूपमा आफ्नो आयबाट केही अंश बचाएर राख्न सक्छौं ।
अपवादमा बेरोजगार युवालाई अलग राखेर केही रोजगारी, पेशा वा व्यवसायमा संलग्न युवाका अहिलेको अवस्था हेर्ने हो भने उनीहरूमा आफ्नो आय बचतको सोच नै नभएजस्तो देखिन्छ । आज कमाएको पैसा आजैका आवश्यकता, मनोरञ्जन वा अन्य फजुल खर्चमा सक्ने प्रवृत्तिले यो समूहका युवाको आर्थिक भविष्य अन्योलमा परेको छ । पंक्तिकारसँगकै सम्पर्कमा भएका केही युवा यस्ता छन्, जसले हिजो कुनै परियोजना वा कुनै व्यवसायबाट राम्रै आम्दानी गरिरहेका थिए, तर अचानक उनीहरूको पेशा वा व्यवसाय टुट्यो । अहिले गोजीमा सुक्काकौडी छैन भन्ने अवस्थाबाट गुज्रिइरहेका छन् ।
त्यसैले प्लसटूभन्दा माथि विश्वविद्यालय तहसम्म अध्ययनरत युवाहरूका लागि वित्तीय योजनाबारे सचेतना अभिवृद्धि गराउनु पर्ने खाँचो छ ।
चौथौ समूहः वैदेशिक रोजगारका आप्रवासी र तिनका परिवार– यो समूह नेपालको अर्थतन्त्रको आधार भए पनि यिनीहरूमा वित्तीय सचेतना कमजोर भएका कारण रेमिट्यान्स आयको उत्पादनमूलक उपयोग हुन सकेको छैन । त्यसैले वैदेशिक रोजगारीमा गएका आप्रवासी र तिनका परिवारका लागि बचत, लगानी र वित्तीय योजनाबारे विस्तृत सचेतना अभिवृद्धि गरिनु जरुरी छ ।
आममानिसमा आफू पर्याप्त आयआर्जन गर्न नसक्ने भएकाले आफू बचत गर्न नसक्ने धारणा रहेको पाइन्छ । वास्तविकता के हो भने हरेक मानिसका लागि बचतको आवश्यकता हुन्छ र हरेक मानिसले बचत गर्न सक्छ । जीवनमा आफ्नो कमाइको पहिलो दिनबाट नै बचतका रूपमा आम्दानीको एक हिस्सा बचाएर राख्न सकिन्छ । आफ्नो कमाइ जतिसुकै कम होस्, त्यसबाट सानै राशिमा नै किन नहोस्, पैसा बचाएर राख्न सकिन्छ । सुरुमा खुत्रुकेमा जम्मा गरेर राखेको बचतपछि बैंकसम्म विस्तार गर्न सकिन्छ । कुनै बेला एकै पटक ठूलो धन आर्जन वा प्राप्ति भएमा त्यसलाई सकेसम्म पूरै नभए, त्यसमध्ये अधिकांश राशि बचतमा राख्ने हो भने भविष्यका लागि अत्याश्यक पर्दा झिक्न सकिन्छ । आफूले बचत गरेर राखेको रकम केही प्रतिशत ब्याजमा बैंकमा निष्क्रिय नै राखिराख्नुपर्छ भन्ने पनि छैन, उपयुक्त लगानी योजना बनाएर त्यसलाई सेयर बजार वा अन्य लगानीका क्षेत्रमा परिचालित गर्नुपर्छ । यही नै वित्तीय साक्षरताको जोड हो ।