व्यावसायिक धर्म निर्वाह गर्न प्रेसलाई राष्ट्रपतिको सल्लाह
 
                  चितवन, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक र आर्थिक रुपान्तरणको अभियानमा पत्रकार जगत्को दायित्व अहम् हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनका खातिर संविधानमा भएका व्यवस्थाको संरक्षण, कार्यान्वयन तथा आगामी दिनमा देशले अङ्गीकार गर्ने सामाजिक–आर्थिक रुपान्तरणको अभियानमा राज्यको चौथो अङ्गका रुपमा रहेको प्रेस जगत्को भूमिका महत्वपूर्ण रहन्छ भन्नुभयो ।
राष्ट्रपतिले भन्नुभयो–“राज्य र सरकारले देश र जनताका पक्षमा लिएका असल नीतिका बारेमा जनतालाई सूसूचित गर्ने अधिकार प्रेस जगत्मा छ भन्नुभयो । ”
व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हननका रक्षामा स्वयम् पत्रकार संवेदनशील हुनुपर्छ भन्ने आफूलाई लागेको राष्ट्रपति भण्डारीले बताउनुभयो । प्रेस स्वतन्त्रतामा कोही कसैले अङ्कुश लगाउन नसक्ने भन्दै उहाँले पत्रकारले आफूले बनाएको आचारसंहिताले पत्रकारलाई जिम्मेवार बनाउने बताउनुभयो । उहाँले आचारसंहिताको पालना गरेर प्रेस मर्यादित बन्न सक्ने बताउँदै स्वतन्त्र र व्यावसायिक धर्म निर्वाह पत्रकार जगत्लाई सल्लाह दिनुभयो ।
राष्ट्रपति भण्डारीले उच्चतम स्वतन्त्रताको प्रत्याभूति उच्चस्तरको दायित्वबाट मात्रै पूरा हुन्छ भन्ने कुरामा कसैको दुई मत हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “सबल, सशक्त र स्वतन्त्र सञ्चारमाध्यम देशको सर्वाेपरि राष्ट्रिय हितको पहरेदार हो ।”
श्रमजीवी पत्रकारको पारिश्रमिक र सुविधामा सरकार तथा सञ्चारगृहहरु सकारात्मक रहनुपर्ने बताउँदै उहाँले पत्रकारले पनि देशको अखण्डता, सार्वभौमिकता र राष्ट्रिय हित, स्वाभिमान संरक्षणका साथै धार्मिक, सांस्कृतिक र जातीय सद्भावका लागि सजग र सचेत बन्नै पर्छ भन्नुभयो ।
देश र जनताले भोग्दै आएका आर्थिक, शैक्षिक समस्या, स्वास्थ्य, पानीका स्रोतको संरक्षण, वर्षाको पानीको भण्डारण, जलवायु परिवर्तनका नकारात्मक असरबाट जोगाउने उपाय जस्ता कुरामा सञ्चारमाध्यम सशक्त बन्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानका साथै हिंसाको अन्त्य गर्नका लागि न्याय र समानताप्रतिको संवेदनशीलतामा पनि पत्रकारको ध्यान पुग्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आर्थिक समृद्धिका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।
उहाँले आउँदो १० वर्षमा १० लाख युवालाई स्वदेशमै रोजगार दिने गरी उद्योग खोल्ने योजना सरकारको रहेको जानकारी दिनुभयो ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले आगामी दिनमा नेपालको पत्रकारितालाई अझै माथि उठाउन सक्दो प्रयास गरिने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले नागरिकको आशा र भरोसाको केन्द्र सञ्चारजगत् बनेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले दण्डहीनता र सेन्सरसिपको अन्त्यका लागि महासङ्घले भूमिका खेलेको बताउनुभयो । रासस

 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            