सहकारीप्रति आकर्षण बढ्दै
काठमाडौँ, ९ साउन । नेपालमा सहकारीको क्षेत्रमा जनसहभागिता बढ्दै गएको छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा सहकारीप्रति नागरिकको आकर्षण बढ्दै गएको हो । सहकारी विभागमा दर्ता भएका सहकारीको सङ्ख्या ३३ हजार २०० पुगेको छ । विभागका रजिस्टार उपेन्द्रबहादुर ढुङ्गानाले सहकारीका क्षेत्रमा हालसम्म रु ६४ अर्ब पाँच करोड लगानी रहेको तथा बचत सङ्कलन रु दुई खर्ब दुई अर्ब रहेको जानकारी दिनुभयो ।
विसं २०२८ मा सहकारीको सङ्ख्या दुई हजार ८०० रहेको थियो भने यसमा आश्रित महिलाको सङ्ख्या २१ लाख १३७ तथा पुरुषको सङ्ख्या २४ लाख पाँच हजार गरी ४५ लाख ५५ हजार रहेको छ । सहकारीमा कम्तीमा २५ जना मिलेर सहकारी खोल्न सकिने भए पनि पाँच हजारभन्दा बढीसम्म सदस्य रहने व्यवस्था छ । विसं २०१० मा सहकारी विभाग स्थापना भएको हो ।
विभागले सहकारीको क्षेत्रमा बढ्दै गएको विकृति तथा ठगी नियन्त्रण गर्न रु एक करोडभन्दा बढी कारोबार गर्ने संस्थामा नियमित रुपमा अनुगमन गरिरहेको र अनियमितता गर्ने संस्थालाई जरिवाना तथा कारबाहीको दायरामा ल्याएको ढुङ्गानाले बताउनुुभयो । सहकारी ऐन परिमार्जनसहित आउन लागेको उहाँको भनाइ छ । रासस