सानिमा बैंकद्वारा धुर्मुस सुन्तली फोउण्डेशनलाई रु. २१ लाख आर्थिक सहयोग

काठमाडौँ, १८ फागुन । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धुर्मुस सुन्तली फोउण्डेशनलाई रु. २१ लाख सहयोग गरेको छ । भूकम्पपीडित एवं मुसहर वस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढी पीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३, २०७४ मा उक्त बस्ती एक समारोहका बीच हस्तान्तरण गरिएको थियो ।
उक्त बस्ती निर्माणमा अपुग भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ लाखको सहयोग गरेको छ । एक कार्यक्रमका बिच बैंकका सन्चालक तुक प्रसाद पौडेलले सो रकमको चेक हस्तान्तरण गर्नु भयो । हस्तान्तरण समारोहमा धुर्मुस सुन्तली फाउण्डेशनको कार्यलाई सराहना गर्दै सानिमा बैंक पनि जोडिन पाउँदा खुशी लागेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै सिताराम कट्टेलले, उक्त बस्ती अनुमानित समयभन्दा चाँडै र अनुमानित लागत भन्दा कममै सकिएको बताउँदै बैंकिङ्ग क्षेत्रबाट अहिलेसम्मको सबैभन्दा ठूलो धनराशी सहयोग गर्नु भएकोमा बैंकलाई धन्यबाद दिनु भयो । केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिदैं उहाँले यो रकमसँगै सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताउनु भयो । त्यसै गरी कुञ्जना घिमिरेले फोउण्डेशनलाई विश्वास गर्नु भएकोमा धन्यवाद दिँदै यो सहयोग बैंकले गरेको सम्मानका रुपमा लिएको बताउनु भयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमाभित्र नै सम्पन्न गरी हस्तान्तरण गर्नु भएको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनको पाठ सिक्नु पर्ने बताउनु भयो साथै आफ्नो कलाकारितामा मात्र सीमित नरही समाज सेवामा लागेकोमा सिताराम कट्टेल र कुञ्जना घिमिरेप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
सानिमा बैंकले सन् २०१२ देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति सहित अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल सानिमा बैंकको सबैभन्दा न्यून निष्कृय कर्जा तथा नेपालभरी ५८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. सञ्जाल रहेका छन् ।