सेयर बजारमा चलखेल कसरी हुन्छ ?
सेयर बजार सँधै निष्पक्ष र कुनै प्रभावबिना सञ्चालन हुनपर्छ । ठूला–साना सबैले लगानी गरेका हुन्छन्, सबैलाई आफ्नो पूँजीको माया लाग्छ । घाटा नाफा बजारको प्राकृतिक तरिकाले हुनु पर्छ भन्ने सबैको मान्यता हो । तर जसरी नेप्से (नेपाल स्टक एक्स्चेन्ज) को बजार पूँजीकृतको दायरा बढिरहेको छ, त्योसँगै विकृति र बजारमा अस्वभाविक गतिविधि पनि बढिरहेको छ । सेयर बजारमा आउने हरेकको सूचना एकदमै संवेदनशील हुन्छ । सानो गलत हर्कतले पनि धेरै लगानीकर्ता मर्कामा पर्न सक्छन् । त्यस्तै गतिविधिले बजारप्रति लगानीकर्ताको विश्वास गुम्ने र बजारलाई जुवाघरको संज्ञा दिने कारण पनि त्यही हो जस्तो लाग्छ । नेप्सेमा करोड माथि लगानी गर्ने व्यक्ति वा संस्थागत समूहलाई खेलाडी भन्ने चलन छ । यो भारतको बम्बे स्टक एक्स्चेन्जबाट आयातित शब्द हो, जुन दलाल स्ट्रीटमा ब्यापक प्रयोग हुन्छ । खेलाडी भन्नुको अर्थ बजारलाई स्वभाविकभन्दा आफ्नो अनुकूल नियन्त्रण गर्न खोज्ने र लाभ उठाउने सामथ्र्य राख्ने लगानीकर्ता हो । खेलाडीलाई सहयोग गर्ने अरु व्यक्ति र सिस्टम पनि जोडिएको हुन्छ । नेप्सेमा पनि त्यस्तै चलाखेल देख्न सकिन्छ ।
इन्साइडर ट्रेडिङ (आन्तरिक कारोवार)
कुनै कम्पनीका विशिष्ट व्यक्ति (सञ्चालक, व्यवस्थापक, नियमक निकायका उच्च पदस्थ कर्मचारी) ले आफ्नो वा आफ्नो समूहको व्यक्तिगत फाइदाका लागि कम्पनीको महत्वपूर्ण सूचना चुहावट गरेर घाटा नखानु वा नाफा आर्जन गर्नका लागि सेयर खरिद वा बिक्री गर्ने कार्यलाई इन्साइडर ट्रेडिङ भन्ने गरिन्छ । त्यसरी सूचनाको गलत फाइदा लिनु कानुनी रूपले गलत मानिन्छ । आन्तरिक कारोवारले विशेषगरी साना लगानीकर्ता मर्कामा पर्ने गरेका छन्, बढेको बेला किन्न सुरु गर्दा खेलाडीले बेच्न सुरु गर्छन्, त्यसपछि मूल्य घट्न थाल्छ र कहिले बढ्छ थाहा हुने कुरै भएन । धेरैजस्तो अवस्थामा बोर्ड बैठकको सूचना धेरै चुहिने गरेको छ ।
बियर रेडिङ
यसलाई कम्पनी, व्यक्ति, वा व्यक्तिहरूको समूह मिलेर अत्यधिक मात्रामा सेयर बेचेर वा आफूसँग हुँदै नभएको सेयर बेच्न ब्रोकरलाई आदेश दिएर मूल्य गिराएर बेच्ने चलखेल भनेर बुझ्न सकिन्छ । अत्यधिक मूल्य गिराउन सुरु गरेपछि बाँकी अरु लगानीकर्ताले सस्तोमा बेच्न सुरु गर्छन र ‘बियर रेड’ गरेकाले फेरि त्यही सस्तो मूल्यका सेयर किन्छन् । नेप्सेको फ्लोर ट्रेडिङ सिट हेर्ने हो भने १०–२० कित्ताले कुनै कम्पनीको मूल्य गिराउने गरेको खेल बुझ्न सकिन्छ । त्यसैले हरेक लगानीकर्ता आफूचाहिँ फ्लोर ट्रेडिङ सिट हेरेर सतर्क हुनपर्छ ।
चर्निङ (भूमरीकरण)
लगानीकर्ताले एउटै कम्पनीको सेयर सङ्ख्या र मूल्य आफैले खरिद र बिक्री गरी मूल्य एकै राख्ने र, त्यसैलाई घरिघरि खरिद–बिक्री आफै गर्ने कार्यलाई चर्निङ (भूमरीकरण) भनिन्छ । नेप्सेमा ठ्याकै कसले यस्तो खालको खेल गर्दैछ भनेर यकिन गर्न सकिन्न । यस्तो हर्कतले चर्निङ गरिएको कम्पनीको खरिद बिक्री एक्टिभ देखिन्छ, अनि अरु लगानीकर्ता थपिएर आफै मूल्य बढाउन सुरु गर्छन् र बढेको मौकामा चर्निङकर्ताले आफूसँग भएका सेयर बेच्न सुरु गर्छन् । मोही पार्ने मदानी जस्तो प्रक्रियालाई हामी चर्निङ गतिविधि भन्न सक्छौं । चर्निङ गर्दा धेरै नै एक्टिभ देखिने र टप गेनर लिस्टमा पहिलो पाँचौ स्थानमा रही रहन सफल हुने हुँदा बाँकी अरु लगानीकर्ता त्यसको जालोमा परेर मूल्य बढाउँदै खरिद गर्न सुरु गरिहाल्छन् । प्रायः राम्रा कम्पनीको करनिरिङ गरिने हुँदा माग बढेकै होला भन्ने लाग्छ ।
स्टक ब्यासिङ
कुनै निश्चित कम्पनीको सेयर सस्तो मूल्यमा उठाउन परयो भने ट्रेडरले ‘स्टक ब्यासिङ’ तिकडम प्रयोग गर्छन् । ‘स्टक ब्यासिङ’ का लागि अनलाइन मिडिया, छलफल फोरम (अनलाइन–अफलाइन दुवै) प्रयोग गर्ने । कुनै निश्चित कम्पनीको बारेमा गलत सूचना र अफवाह फैलाउने खालका सूचना सम्प्रेषण गरेको गरै गर्ने, यस्ता सूचना तबसम्म सम्प्रेषण गर्ने जबसम्म अरु लगानीकर्ताले आफूले खराब कम्पनीको सेयर गरेको आभास भएर सकेसम्म बेच्न पाए हुन्थ्यो भन्ने नलाग्दासम्म ‘ब्यासिङ’ गर्ने गर्छन् । यस्तैको सिकार साना लगानीकर्ता हुने गर्छन् । यसरी सेयर मूल्य गिराएर कुनै लगानीकर्ताको झुन्ड वा ट्रेडरको समूहले मूल्य गिराउने काम गर्छन् । ‘ब्यासिङ’ लाई ग्रान्ड डिजाइन पनि भन्ने गरिन्छ, यो जालो ठूलो हुन्छ र भित्र बाहिर सबै जनाको मिलोमतो हुन्छ । कमिसन, सेयर हिस्सा आदिमा यसको डिल गरिएको हुन्छ । यसरी खरिद गरिएको सेयरलाई ‘पम्प एन्ड डम्प’ प्रणाली प्रयोग गरेर नाफा कमाउँछन् । त्यसैले कम्पनीको आधिकारिक सूचना र रिपोर्टबाहेक बाँकी अरु कुनै पोर्टलमार्फत आएको छ भने आफूले जाँचपड्ताल गर्नु जरुरी छ । हामी यस्तै समाचारको सिकार भएको धेरै उदाहरण छन् । यसै पनि मार्केट गुरुहरू स्टकसम्बन्धी कुनै समाचार नै हेर्न हुँदैन भन्ने गर्छन् ।
करनरिङ (एकीकृत)
करनरिङमा धेरै रकम चाहिने हुँदा यो पनि ठूलैै लगानीकर्ता (खेलाडी) ले मात्र खेल्न सक्छन् । करनरिङमा खेलाडीले भएजति सबै वा अरूभन्दा धेरै सेयर किन्ने र उता माग–आपूर्ति (डिमान्ड–सप्लाई)को सन्तुलनमा आपूर्ती आफ्नो नियन्त्रणमा लिएर आफ्नो अनुकूल मूल्य निर्धारण गर्ने सम्मको हैसियत खडा गर्ने गर्छन् । यस्तो काम प्रायः म्युचुअल फन्डले गर्ने गर्छन् । म्युचुअल फन्डले एकै पटक धेरै कित्ता खरिद गर्ने हुँदा सकेसम्मको सस्तोमा किन्ने सुरसार गरेका हुन्छन् । करनरिङ प्रायः देशमा वित्तीय अपराध मानिन्छ ।
पुलिङ (एकत्र)
कुनै व्यक्तिको समूह वा लगानी गर्न स्थापित संस्थाहरूले पूँजी एकत्र गर्ने र पूँजी रकम ठूलो बनाएर कुनै एकजना बजारको जानकार वा विशेषज्ञलाई पूर्ण अधिकार प्रदान गरी बजारमा मूल्य गिराउने वा बढाउने खेलमा ठूलै कमिसन दिएर लगाउने कार्यलाई पुलिङ अपराध भनिन्छ । कालो धनको खोजी गर्ने समाचार बाहिर आउँदा नेप्सेमा पुलिङ गर्ने काम केही समय काम भए पनि अहिले पुनः दोहोरिन सक्छ ।
माथि उल्लेख गरिएका बजारमा हुने चलखेल गर्ने तरिका विश्वभरी र नेपालमा पनि देखिने गरेका छन् । धेरैजसो देशमा यसलाई नियन्त्रण गर्न कडा कानुन निर्माण गरिएको छ । जस्तो बियर रेड, स्टक ब्यासिङलाई तोकेर नै भारत, इजरायल, कोरिया जस्ता देशमा वित्तीय अपराध कानुन निर्माण भएको छ । पछिल्लो अवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकरहरूलाई त्यस्ता अवाञ्छित गतिविधिमा लागेको पाएमा नसिहत, स्पष्टीकरण, ७ दिनसम्म ब्रोकरेज गर्न नपाउने जस्ता नियन्त्रण गर्ने प्रयास गरेको छ । वित्तीय अपराधका कानुन कडा भए पनि अनुगमन र नियन्त्रण गर्ने प्रणाली कमजोर रहेको हुँदा धेरै अपाधीले सजिलै उन्मुक्ति पाएका छन् । त्यसैले लगानीकर्ता आफै सचेत हुनु नै उपयुक्त हुन्छ ।
suchana ra jagaraan ko lagi dhanyebaad Anup dai 🙂