हेटौँडा– काठमाडौँ छोटो दूरीको सडक बिस्तारमा तीव्रता
हेटौँंडा, १७ भदौ । हेटौँडा– काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरी तीव्रता पाएको छ । नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरी तीव्रता दिएको हो ।
सडक आयोजना प्रमुख दीपक केसीकाअनुसार तराई आन्दोलन र नाकाबन्दीले गर्दा इन्धनको चरम अभावले काम ठप्पै बनाएकामा केही हप्तायता ठेकेदारले कामलाई तीव्रता दिएको जानकारी दिनुभयो ।
आयोजनाले चालुु आर्थिक वर्षभित्र सडकलाई चौडा गरिसक्ने र आउने आर्थिक वर्षदेखि कालोपत्रे गर्ने लक्ष्य छ । आयोजनाले ठेकेदार कम्पनीलाई सडक चौडा गर्न पुस मसान्तसम्मको समय दिएपनि इन्धन अभावले निर्धारित समयमा काम हुन नसक्ने देखिएकाले असार मसान्तसम्मको लागि म्याद थप भएको थियो ।
तर असारसम्म चौडागर्ने काम नसकिएपछि फेरि म्याद थप गरेर काम सकाउने योजना अघि सारिएको हो ।
सडक चौडा गर्ने काममा अझै एकवर्ष लाग्नसक्ने देखिएको छ । हेटाँैडा र काठमाडौँबाट साना तथा ठूला सवारीका साधन सजिलैसँग ओहोरदोहोर गर्नका लागि यो मार्गले निकै सहयोग पुग्ने स्थानीयवासी बताउँछन् ।
हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो र चापागाउँ दोबाटो सम्म ९० किलोमिटर लम्बाइ रहेको सडकको चौडाइ तीनदेखि पाँच मिटर रहेकाले त्यसलाई ८.३० मिटर चौडा गर्न लागिएको आयोजनाका प्रमुख केसीले बताउनुभयो ।
विभिन्न खण्ड गरी सडक चौडाका लागि हेटौँडाको बुद्धचोकदेखि ललितपुरको टिकाभैरव पुलसम्म ७९ किलोमिटर कन्टेक प्रालि, एससिसि मोतिदान जेबी, महालक्ष्मी सिं एण्ड ब्रदर्स जेबी, कञ्चनजङ्गा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ९० किमीमध्ये हेटौँडादेखि टिकाभैरवको पुलसम्म ७९ किमी सडक योजनाले हेर्ने र बाँकी टिकाभैरवको पुलदेखि सातदोबाटो चाँपागाउँ दोबाटोसम्म ११ किमी भने ललितपुर सडक डिभिजन कार्यालयले हेर्ने आयोजना प्रमुख केसीले बताउनुभयो ।
सडक डिभिजन कार्यालयले हेटौँडाको बुद्धचोकदेखि चुच्चे खोला, चुच्चे खोलादेखि जितपुर र टिकाभैरवदेखि तिनपानेसम्मको सडक खण्डको कालोपत्रे स्तरोन्नतिका लागि यसअघि नै बोलपत्र आह्वानसमेत गरिसकेको छ ।
जग्गा अधिग्रहण गर्न र अधिकांश स्थानमा सडक छेउमा घर टहरा बनिसकेको तथा अतिक्रमित संरचना हटाउनुपर्ने चुनौती आयोजनालाई छ । यस सडकलाई दक्षिणकाली–सिस्नेरी सडकखण्ड, त्रिभुवन लोकपथको विकल्पको रुपमा हेरिएको छ ।
गत वर्षको विनाशकारी भूकम्पका कारण आएको पहिरोले अन्य लोकमार्गलाई अवरोध गरेपछि यस मार्गलाई वैकल्पिक मार्गको रुपमा स्थापित गराउन राज्यले चासो बढेको हो ।
प्रत्येक आर्थिक वर्षमा रु पाँच÷पाँच करोड विनियोजन भएकामा चालुु आर्थिक वर्षका लागि रु ३९ करोड विनियोजन भएको छ । यसअघि सो योजनामा झन्डै ४७ करोड खर्च भइसकेको छ ।
विंसं.२०१३मा राजा महेन्द्रले शिलान्यास गरेपछि यो ‘राजपथ’ निर्माण सुरू गरिएको थियो । काठमाडौँ– हेटैँडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई ‘लोकमार्ग’ नाम दिइ छुट्टै योजनाका रूपमा कामअघि बढाएको हो । रासस