आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

Post Date : June 23, 2017 | 6:43 pm

काठमाडौँ, ९ असार । चन्द्रागिरि केवलकार सञ्चालन गरिएको एघार महिनामै पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य बनेको छ ।

छोटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सकेको चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यु टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर उद्यानका साथै आवश्यक खानेकुराका लागि चमेनागृहमेत बनेको छ ।

काठमाडौँको थानकोटबाट चन्द्रागिरि हिल्स पुुग्न केवलकारबाट ११ मिनेट लाग्छ । चन्द्रागिरिबाट सुन्दर दृश्य देखिनाका साथै शान्त वातावरण छ । सत्यदेवीको भाल (निधार) खसेको हुनाले सो स्थानमा भालेश्वर महादेव मन्दिरको स्थापना गरिएको धार्मिक मान्यता छ । यसले गर्दा सो स्थान धार्मिक रुपले पनि ऐतिहासिक मानिन्छ ।

नेपालका एकीकरण अभियान सुरु गर्दा पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ उपत्यका एकीकरण अभियान भालेश्वर महादेवको दर्शन गरेर सुरु गरेको ऐतिहासिक तथ्ये छ ।

हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत मदनकृष्ण श्रेष्ठले भन्नुभयो, “चन्द्रागिरिबाट यति धेरै हिमाल देखिन्छ, जति हे¥यो त्यति हेरुँ हेरुँ लाग्छ, यहाँबाट चारैतिर मनमोहक दृश्य देखिन्छ ।” कलाकार श्रेष्ठ चन्द्रागिरि काठमाडौँ उपत्यकाको मात्र नभएर बाहिरबाट आउने पर्यटकका लागि पनि निकै राम्रो पर्यटकीय गन्तव्य बन्ने सम्भावना देखेको बताउनुहुन्छ ।

हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत हरिवंश आचार्यलाई चन्द्रागिरि काठमाडौँको टोपी जस्तो लाग्छ । “चन्द्रागिरिबाटै शान्त वातावरणमा यति धेरै सुन्दर दृश्य देख्न पाइन्छ, मनै आनन्द हुन्छ”, उहाँले सुनाउनुभयो ।

त्यस्तै हास्यकलाकार तथा चन्द्रागिरि हिल्सका सद्भावना दूत दीपकराज गिरी र दीपाश्री निरौलाले पनि चन्द्रागिरि हिल्स पर्यटकको नमुना गन्तव्य रुपमा विकास हुने सम्भावना देख्नुभएको छ ।

चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्र ढकालले त्यति सहज तरिकाले सो परियोजना सञ्चालन नभएको तथा अनुमति लिनका लागि मात्र पाँच वर्ष लागेको र दुई वर्ष निर्माणपछि मात्र अहिलेको अवस्थामा आएको बताउनुभयो । ढकालका अनुसार ११ महिनामा साढे पाँच लाख पर्यटकले चन्द्रागिरिको भ्रमण गरिसकेका छन् । हिल्सले रु छ करोड राजस्व सरकारलाई बुझाएको छ । (कालिका खड्का) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *