एकै दृश्य खिचेर दुई चलचित्र: ‘वर्ल्ड रेकर्ड’मा दर्ता गर्ने लक्ष्य

Post Date : July 18, 2016 | 6:19 pm

काठमाडौँ, ३ साउन । एउटै दृश्य (वान सट)मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटर्न्स’ एकैसाथ तयार हुने भएका छन् ।

विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वर्ल्र्ड रेकर्ड’मा दर्ता गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सङ्गीतकर्मीद्वय अराज केशव र मोहित मुनालले बनाउन लागेको चलचित्रमा करिब ५० कलाकारले अभिनय गर्नेछन् । अराज केशवको कथा/निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनय गर्ने केही कलाकार तय भइसकेका छन् जसमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान वर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य र भीष्म जोशीले अभिनय गर्ने पक्कापक्की भइसकेको छ ।

निर्माण पक्षका अनुसार एक पटक क्यामरा खोलेपछि चलचित्रका सबै दृश्य नखिचेसम्म बन्द हुने छैन । पूर्वाभ्यासका सबै तयारी सकेपछि चार घन्टा लगातार दृश्य खिचिने छ र कुनै दृश्य पनि दोहोरयाएर खिचिने अवसर हुने छैन । चलचित्रमा अन्य व्यावसायिक चलचित्रमा जस्तै ‘फ्ल्यास ब्याक’, रहस्य, द्वन्द्व, गीत र नृत्य आदि सबै समावेश गरिनेछ । पूरै दृश्य खिचिसकेपछि चलचित्रलाई दुई भागमा बाँडेर ‘जालो’ र ‘जालो रिटर्न्र्स’ बनाइने छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्र उद्योगमा नयाँ लगानीकर्तालाई आकर्षित गर्न यस्ता चलचित्र निर्माण हुन जरुरी रहेको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घका अध्यक्ष शान्तिप्रियले यो नयाँ कामको थालनीमा सबैले साथ दिनुपर्ने बताउँदै यस चलचित्रले समग्र नेपाली क्षेत्रलाई नै अन्तर्राष्ट्रियकरण गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

निर्देशक अराज केशवले आफूले करिब सात वर्ष लगाएर यस्तो चलचित्र बनाउने सपना बुनेको बताउँदै चलचित्र सफल भई विश्व रेकर्ड कायम हुने आशा व्यक्त गर्नुभयो ।

चलचित्रको छायाङ्कन आगामी असोजमा गरिने तथा चलचित्र यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने छ । चलचित्रलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गराउन अहिलेदेखि नै पहल थालिएको निर्माता मोहित मुनालले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *