चिकित्सा विज्ञान प्रदर्शनी सुरु

Post Date : December 15, 2016 | 4:50 pm

काठमाडौँ, ३० मङ्सिर । नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

‘केमिकल एन्ड मेडिकल सप्लायर्स’ नेपाल र नेपाल केमिकल सोसाइटीले भारतको एसडी प्रोमो मिडिया प्रालिसँग मिलेर उक्त प्रदर्शनीको आयोजना गरेको हो ।

पुस दुई गतेसम्म चल्ने सो प्रदर्शनीमा अन्तर्राष्ट्रिय बजारमा आएका स्वास्थ्यका अत्याधुनिक उपकरण, शल्यचिकित्सका सामग्री, उद्दार र आपतकालीन सामग्री, मेडिकल डिस्पोजेवल, अस्पतालका लागि फर्निचर, अस्पतालका सूचना संयन्त्र प्रदानकर्ता, औषधिजन्य फोहोर व्यवस्थापनलगायत एक सय ७० कक्ष राखिएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले प्रदर्शनीको उद्घाटन गर्दै बजारमा आएका अत्याधुनिक नयाँ प्रविधिको बारेमा प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्वास्थ्यमा सबैभन्दा बढी प्रविधि र उपकरण खरिद गर्दा धेरै पैसाको खेल हुने गरेकाले कतिपय नचाहिएका साधन खरिद गर्ने, चाहिएका साधन भने खरिद नगर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो ।

केमिकल एन्ड मेडिकल सप्लायर्स नेपालका अध्यक्ष भक्त हमालले अस्पताल, प्याथोलोजी, ल्याब, अध्ययन संस्थान, मेडिकल तथा खाद्य उद्योग, विश्वविद्यालय, वस्तु परीक्षण प्रयोगशाला, व्यापार आपूर्तिकर्ताले प्रदर्शनी अवलोकलन गर्ने बताउनुभयो ।

एसडी प्रोमो मिडिया प्रालि भारतका प्रमुख विवेक विक्रमले डेढ वर्षअघि नै प्रदर्शनी गर्ने योजना बनाएको भए पनि नेपालमा गएको विनाशकारी भूकम्पका कारण ढिलाइ भएको बताउनुभयो । प्रदर्शनीमा प्रयोग, विश्लेषण, वैज्ञानिक र बायोटेक्नोलोजी सम्बन्धी सामग्री र उपभोग्य बस्तु राखिएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *