नबिल बैंक र फिनलिट नेपालबीच वित्तीय साक्षरता सचेतनाका लागि हातेमालो

Post Date : June 13, 2017 | 3:56 pm

काठमाडौँ, ३० जेठ । नबिल बैंक लिमिटेड र फिनलिट, नेपाल प्रा.लि.ले लमजुङको बेशीसहरमा आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि सम्झौता गरेका छन् । नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनी र फिनलिट नेपाल प्रा.लि.का सञ्चालक प्रकाश कोइरालाले मिति २०७४ जेठ २८ गते बैंकमा आयोजित एक कार्यक्रममा त्यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस अन्तर्गत नबिल बैंकले फिनलिट नेपालसँग सहकार्य गरी बेशीसहरका दश स्कुलहरुबाट आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्नेछ ।

यस साझेदारीले कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको छ । फिनलिट नेपाल “स्कुल बैंक” नामक संरचनागत अवधारणा लिई अगाडि आएको छ, जसले आर्थिक साक्षरता सम्बन्धी साथै लक्षित विद्यार्थी तथा युवाहरुको आर्थिक क्षेत्रमा पहुँचको लागि आवश्यक जानकारी प्रदान गर्दछ । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरुका बाबु–आमालाई नगद–रुपैयाँको व्यवस्थापन, बचत तथा खर्च, आर्थिक योजना र लगानी सम्बन्धी सिद्धान्तहरुका बारेमा सिकाएर आर्थिक मामिलामा राम्रोसँग बुझाउनको लागि स्कुल बैंक नामक आर्थिक शिक्षा सम्बन्धी ढाँचाको तर्जुमा गरिएको छ । स्कुल बैंकको पाठ्यक्रमको अवधि सात महिनाको रहने बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

नबिल बैंकका नायब महाप्रबन्धक रमेश प्रसाद लोहनीले फिनलिट नेपालसँगको साझेदारीमा बेशिसहर, लम्जुङमा आर्थिक साक्षरता सचेतना कार्यक्रम मार्फत यस्तो उत्कृष्ट सेवाका लागि योगदान गर्न पाएकोमा खुशी लागेको छ भन्दै यो कार्यक्रम विद्यार्थीहरुको लागि अत्यन्त लाभदायी हुने र आगामी दिनहरुमा बैंकले आर्थिक साक्षरता सचेतनाको विस्तारमा अझ वढी क्रियाकलापहरु सञ्चालन गर्ने बताउनु भएको पनि विज्ञप्तीमा उल्लेख छ ।

फिनलिट नेपाल प्रा.लि.का सञ्चालक प्रकाश कोइरालाले यस कार्यक्रमको लागि नबिल बैंकसँग साझेदारी गर्न पाउँदा असाध्यै खुशी लागेको छ भन्दै यो सात महिनाको अवधिमा स्कुल बैंक कार्यक्रमले विद्यार्थीहरुको माझमा पक्कै पनि सकारात्मक सन्देश प्रवाह गर्ने छ र यो कार्यक्रमको समाप्ती पश्चात वित्तीय साक्षरताका सन्दर्भमा विद्यार्थीहरुमा सजिलै देख्न सकिने गरी प्रभाव पार्नेछ भन्नुभएको कुरा पनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक क्रियाकलाप, विज्ञान तथा प्रविधि, स्वास्थ्य, साहित्य तथा कला आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परेको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *