नारायणी नदीमा सिग्नेचर पुल बन्ने

Post Date : April 29, 2018 | 5:40 pm

चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ ।

विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालीम दिन शुरु गरिसकेका छन् । महाशाखाले देशका विभिन्न १० वटा नदीमा अहिलेसम्मकै सबैभन्दा सुन्दर पुलहरु निर्माण गर्न लागेको हो ।

चीनका पुल विज्ञ डा चेनले हाल महाशाखाका प्रविधिज्ञहरुलाई तालीम दिइरहनु भएको छ । पहिलो पुल नारायणी नदीमा निर्माण गर्ने योजना छ ।

प्रमुख थापाका अनुसार चारसय मिटर लामो सो पुल चार लेनको हुनेछ । अहिले भइरहेको पुलसँग जोडेर उत्तर वा दक्षिणतर्फ पुल बनाइनेछ । आउँदो आर्थिक वर्षभित्र पुलको डिजाइन सम्पन्न गरी अर्काे वर्ष टेण्डर गर्ने तयारी छ । पाँच वर्षभित्र नयाँ पुल निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको थापाको भनाइ छ ।

विश्व बैंकले महाशाखाका प्रविधिज्ञहरुको क्षमता अभिवृद्धि गर्न र दुवैतर्फ घना वस्ती भएका १० नदीहरुमा सिग्नेचर पुल निर्माणमा सहयोग गर्न रुचि देखाएपछि काम अगाडि बढेको हो । देशका राजमार्गमा एक हजार ७०० पुल रहेका छन् । नारायणी नदीसँगै बुटवलको तिनाउ, सर्लाहीको बागमती, तनहुँको दमौली, पोखराको पृथ्वीचोक लगायतका ठाउँमा सिग्नेचर पुल निर्माण गर्ने तयारी गरिएको छ ।

नारायणी नदीमा पहिलो पुल निर्माण गर्ने तय भएपनि अन्य १० ठाउँको भने टुंगो लागि नसकेको उहाँले बताउनुभयो । डिजाइन सम्पन्न भएपछि यकिन खर्च रकम आउने भएपनि यो पुल बनाउन करिब एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

नारायणी नदीमाथिको हाल रहेको पुलको आयु ७० वर्ष छ । अब बन्ने पुल भने एक सय वर्ष आयुको हुने बताइएको छ । विसं २०३८ साल अघि नारायणी नदीमा डुंगा (फेरी) को सहायताले यातायातका साधन वारपार गराइन्थ्यो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *