घरेलु महासङ्घको महाधिवेशन जेठ २४ गतेदेखि

Post Date : June 2, 2016 | 6:25 pm

काठमाडौँ, २० जेठ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २३औँ राष्ट्रिय महाधिवेशन तथा २०औँ केन्द्रीय महिला उद्योगी सम्मेलन यही जेठ २४ र २५ गते हुने भएको छ ।

महासङ्घले बुधबार साँझ पत्रकारसम्मेलन गरी महाधिवेशनमा ६७ जिल्लाका ३८७ प्रतिनिधि र उद्यमी सम्मेलनका लागि २४५ महिला प्रतिनिधि सहभागी हुने जनाएको छ ।

महाधिवेशनको नारा ‘लघु, घरेलु तथा साना उद्योगबाट घरघरमा रोजगार; दिगो, आत्मनिर्भर र समृद्ध अर्थतन्त्र निर्माणको आधार’ रहेको छ । महासङ्घका अध्यक्ष सुरेश प्रधानले महाधिवेशनबाट आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नीति र नेतृत्व चयन गर्ने जनाउनुभयो ।

उहाँले सरकारले संसद्मा प्रस्तुत गरेको बजेट भूकम्प र नाकाबन्दीको मारमा परेका साना उद्यमीको पुनः उत्थानका लागि विशेष व्यवस्था नभएको भन्दै आलोचना गर्नुभयो । उहाँले उद्योगको क्षेत्रमा बन्द–हडताल गर्न नपाइने व्यवस्था बजेटको सकारात्मक व्यवस्था भएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *