ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई गाभ्ने सम्झौता गर्यो

Post Date : March 28, 2017 | 9:31 pm

काठमाडौँ, १५ चैत । ज्योति विकास बैंकले नेपालगञ्जमा प्रधान कार्यालय रहेको बाँके, बर्दिया र दाङ (३ जिल्ला) कार्यक्षेत्र रहेको राप्तीभेरी विकास बैंकलाई प्राप्ती गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का र राप्तीभेरी विकास बैंकका अध्यक्ष प्रेमबहादुर भण्डारीले हस्ताक्षर गर्नु भएको छ ।

ज्योति विकास बैंकको हाल चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ र १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया रहेको छ । हकप्रद शेयर जारी भएपछि चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ पुग्नेछ ।

राप्तीभेरी विकास बैंकको हाल चुक्ता पूँजी १४ करोड ३७ लाख ६५ हजार रुपैयाँ रहेको छ भने गत वर्षको मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रक्रियामा छ । राप्तीभेरी विकास बैंकलाई ज्योति विकास बैंकले प्राप्ती गरिसकेपछि चुक्ता पूँजी २ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ पुरयाउन दिएको निर्देशनलाई ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बोनस वितरण गर्दा २ अर्ब ५० करोड रुपैयाँ नाघ्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताउनु भएको छ ।

ज्योति विकास बैंकको चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्म निक्षेप संकलन ९ अर्ब १२ करोड ९० लाख रुपैयाँ र ८ अर्ब १ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरी १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

त्यस्तै, राप्तीभेरी विकास बैंकले सोही अवधिमा १ अर्ब ४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन र ८४ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *