तामाकोसी तेस्रो र तमोरमा लगानी गर्न चिनियाँ प्रस्ताव

Post Date : August 25, 2016 | 6:49 pm

काठमाडौँ, ९ भदौ । सरकारी स्वामित्वको चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको दुई महत्वपूर्ण आयोजनामा लगानी गर्न चासो देखाएको छ ।

सो कम्पनीले तामाकोसी तेस्रो र तमोर जलविद्युत् आयोजनामा लगानी गर्न आफू तयार रहेको भन्दै सरकारसँग प्रस्ताव गरेको छ । नर्वेजियन कम्पनी एसएन पावरले बजार नभएको भन्दै छाडेको तामाकोसी जलविद्युत् आयोजनाको क्षमता ६५० मेगावाट रहेको छ ।

यस्तै ७६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको आयोजना हो । विश्व बैंक, मुद्रा कोषलगायतको सहयोगमा बुटवल पावर कम्पनीले निर्माण गर्न लागेको काबेली र अर्को निजी क्षेत्रले निर्माण गरिरहेको हेवा जलविद्युत् आयोजनासमेत सो आयोजना बनेको खण्डमा जलाशयमा पर्ने देखिन्छ ।

कुल ३७ मेगावाट क्षमताको काबेली र १४.९ मेगावाट क्षमताको हेवा जलविद्युत् आयोजनालाई क्षतिपूर्ति दिएर नै आयोजना अगाडि बढाउने सोचमा चिनियाँ कम्पनी रहेको छ । काबेली निर्माण सुरु गर्न लागेको परियोजना हो भने हेवा राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको छ । आयोजनाबाट उत्पादित विद्युत्को परीक्षण प्रसारणसमेत गरिसकिएको छ ।

कम्पनीले इन्जिनियरिङ, खरिद, निर्माण र लगानी (इपिसिएफ) ढाँचामा आयोजना निर्माणकोे प्रस्ताव गरिएको सिएमइसीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले राससलाई जानकारी दिनुभयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा रहँदा नै चिनियाँ कम्पनीले निर्माणको प्रस्ताव गरेको थियो । पछिल्लोपटक पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि पनि इपिसिएफले आफू जलविद्युत् आयोजनाका लागि इच्छुक भएको जनाएको छ ।

कुल ५०० मेगावाट क्षमताका आयोजना लगानी बोर्डमार्फत जानुपर्ने प्रावधान रहेका कारण कम्पनीले बोर्डमा नै प्रस्ताव गरेको जनाएको छ । सिएमइसीका नेपाल प्रतिनिधि खतिवडाले चिनियाँ बैंक आइसिबिसी बैंकबाट ऋण लगानी गर्नेसम्बन्धी आशयपत्रसमेत ल्याइसकेको बताउनुभयो । सिएमसिइसीको वार्षिक कारोबार मात्रै चार अर्ब अमेरिकी डलर रहेको र उसको माउ कम्पनी सिनोम्याकको ४५ अर्ब अमेरिकी डलर आम्दानी रहेकाले पनि लगानीको कुनै समस्या नहुने खतिवडाको भनाइ छ ।

चालु आवको बजेटमा सरकारले इपिसिएफ ढाँचामा भौतिक पूर्वाधार, जलविद्युत् जस्ता आयोजना अगाडि बढाउन सकिने उल्लेख भएअनुसार नै प्रस्ताव पेस गरिएको कम्पनीले जनाएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले चिनियाँ कम्पनीले सामान्य प्रस्ताव मात्रै राखेको र अरु विषयमा कुनै प्रक्रिया सुरु नभएको जानकारी दिनुभयो ।

तामाकोसी तेस्रो आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने भन्ने सम्बन्धमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन । बजार नभएको भन्दै नर्वेजिएन कम्पनीले बीचैमा आयोजना छाडेपछि सरकारले सो आयोजना कसलाई र कुन ढाँचामा अगाडि बढाउने भन्ने टुङ्गो लगाएको छैन ।

यस्तै प्राधिकरणको स्वामित्वमा रहेको तमोर जलविद्युत् आयोजनाको पूर्ण अध्ययन नभएको तथा अन्य प्रक्रिया अगाडि बढाउन पनि थप केही वर्ष लाग्ने देखिएको छ । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि आयोजनाको विषयमा सामान्य छलफल भएको तर नयाँ अर्थमन्त्री आउनुभएपछि भने कुनै छलफल नभएको खतिवडाले बताउनुभयो ।

पछिल्लो दिनमा नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न चिनियाँ निजी कम्पनीले चासो देखाइरहेको बेला सिएमइसी सरकारी कम्पनीले नै चासो देखाएको हो । “हामी सबै प्रक्रिया पु¥याएर लगानीसम्बन्धी प्रस्ताव गर्न लागेका छाँै । आशा छ नेपालको ऊर्जा सङ्कट समाधान गर्न हाम्रो प्रयास सार्थक हुनेछ,” खतिवडाले भन्नुभयो । (रमेश लम्साल) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *