भारतबाट अवैध रुपमा कुखुरा चल्ला आउने क्रम रोकिएन

Post Date : March 4, 2017 | 5:03 pm

रत्ननगर (चितवन), २१ फागुन । भारतबाट अवैध रुपमा कुखुराका चल्ला आउने क्रम रोकिन सकेको छैन । पछिल्लो आठ महिनामा झन्डै डेढ लाख कुखुराका चल्ला यसरी अवैध रुपमा चितवन भित्रिएको छ ।

एकैपटक १८ हजारसम्म चल्ला अवैध रुपमा आएको पाइएको ह्याचरी उद्योग सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्षभरिमा जम्मा ९३ हजार तीन सय ९० वटा चल्ला नष्ट गरिएकामा यो आर्थिक वर्षको आठ महिनामै डेढ लाख चल्ला नष्ट भएको हो ।

अधिकारीले चालु आवको आठ महिनामा एक लाख ४७ हजार पाँच सय २० वटा कुखुराका चल्ला नष्ट गरेको र चल्ला बरामद गर्न उल्लेखनीय भूमिका खेल्ने प्रहरी तथा सहयोगीलाई रु ६ लाख ३६ हजार ६ सय पुरस्कारस्वरुप दिइएको जानकारी दिनुभयो ।

“सम्भावित नाकाहरु वाच गर्ने र अनुगमन हामी आफैँ पनि गर्छौैं, तर हाम्रो प्रयास मात्रै सम्भव नभएपछि पुरस्कार नै दिएर निगरानी थालिएको हो”, सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले भन्नुभयो । यसरी कुखुराका चल्ला बरामद गर्ने प्रहरी या जो कसैलाई पनि कुखुरा व्यवसायीले पुरस्कारस्वरुप प्रतिचल्ला रु पाँच रुपैयाँ दिँदै आएका छन् । अवैध रुपमा चल्ला भित्रिएर विभिन्न रोग फैलन सक्ने भन्दै चल्ला आउन नदिन पुरस्कार घोषणा गरिएको सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताउनुभयो । कुखुराका चल्ला अवैध रुपमा आउन नदिन व्यवसायीले समूह नै गठन गरेर निगरानी गर्दै आएका छन् ।

मुख्यगरी सीमा नाकामा सानो परिमाणमा प्यारेन्ट कुखुरा पाल्ने र भारतबाट अवैध रुपमा ल्याएर आफ्नो छाप लगाउँदै चल्ला भित्र्याउने क्रम पछिल्लो समयमा देखिएको स्वयम् व्यवसायीले बताएका छन् । कुखुरा व्यवसायको प्रमुख समस्याका रुपमा अवैध रुपमा आउने कुखुराजन्य वस्तु रहेको भन्दै यसतर्फ सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने सङ्घका निवर्तमान अध्यक्ष ऋषिराम पौडेलले बताउनुभयो ।

हाल नेपालमा पोल्ट्री क्षेत्रमा रु ७५ अर्ब बढी लगानी छ । नेपालमा उत्पादनमा आत्मनिर्भर भएको पोल्ट्री क्षेत्रमा कच्चापदार्थ भने आयात गर्नुपर्ने अवस्था छ । नेपालमा हाल २२ लाख वटा अन्डा उत्पादन हुन्छ भने प्रतिहप्ता २५ लाख ब्वायलरका चल्ला उत्पादन हुन्छ । एक लाख २० हजार लेयर्स चल्ला र दैनिक आठ लाख केजी मासु तथा दुई हजार सात सय मेट्रिक टन दाना उत्पादन हुँदै आएको सो क्रममा जानकारी दिइएको थियो । नेपालमा कुखुराजन्य उत्पादन चितवनमा सबैभन्दा धेरै छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *