तीन खर्ब बढी कर्जा सुरक्षण

Post Date : May 27, 2016 | 5:30 pm

काठमाडौँ, १४ जेठ । कर्जा सूचना केन्द्रले २०७२ पुस मसान्तसम्म सात हजार १०६ ऋणीलाई कालोसूचीमा समावेश गरेको छ भने सो अवधिमा दुई हजार ४९२ ऋणी कालोसूचीबाट हटेका छन् ।

त्यस्तै निक्षेप तथा कर्जा सुरक्षण निगमले २०७२ असार मसान्तसम्म रु एक अर्ब ९१ करोड ६० लाख कर्जा सुरक्षण गरेकामा २०७२ फागुन मसान्तसम्म रु तीन अर्ब ३६ करोड सुरक्षण गरेको छ । बचत तथा मुद्दती खातामा रहेको रु दुई लाखसम्मको निक्षेप सुरक्षण गरिएको समीक्षा अवधिमा रु तीन खर्ब १८ अर्ब ९२ करोड सुरक्षण गरिएको हो ।

त्यस्तै ग्रामीण स्वावलम्बन कोषले २०७२ फागुन मसान्तसम्म गैरसरकारी संस्था, सहकारी संस्था र कृषि विकास बैंक गरी एक हजार १२९ वटा संस्थालाई रु एक अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ । सो कर्जामध्ये रु एक अर्ब ३५ करोड ५४ लाख असुली गरिएको छ भने रु ५४ करोड ९३ लाख कर्जा लगानीमा रहेको छ । सो कोषबाट प्रवाह भएको यस्तो कर्जाबाट कुल ५३ हजार ३९२ ग्रामीण घरपरिवार प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *