धौलागिरी अञ्चलका विकट स्थानहरुमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालनमा

Post Date : July 6, 2017 | 5:45 pm

काठमाडौँ, २२ असार । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न विकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोबाइल सेवाका नयाँ प्रविधिमा स्तरउन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ ।

धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा 3G बिटीएस स्थापना गरी गत वर्षबाट सेवा सञ्चालनमा ल्याइएको जानकारी प्रेस विज्ञप्तीमार्फत दिएको छ ।

साथै गत बैशाखदेखि धौलागिरी अञ्चलका दुर्गम तथा ग्रामीण स्थानहरुमा ७४ वटा 2G तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने ३८ वटा 3G बिटीएस स्थापना गरी सञ्चालनमा ल्याइएको पनि जनाएको छ । यी स्थानहरुमध्ये कतिपय यसअघि कुनै पनि सेवा नपुगेका स्थानहरु जस्तै मुस्ताङको मुक्तिनाथदेखि लोमान्थाङसम्मको सम्पूर्ण उपल्लो मुस्ताङ, म्याग्दीको गुर्जा र बाग्लुङको ढोरपाटन पनि रहेका छन् ।

त्यस्तै गरी गत दुई महिनाको अवधिमा धौलागिरी अञ्चलका सात नयाँ स्थानहरुमा १३ वटा 2G तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २ वटा 3G बिटीएस म्याग्दीको तकाम, दाना र डुवा पर्वतको लेखफाट र शंकरपोखरीकोट साथै बाग्लुङको तमान र दुधिलाभाटी स्थापना गरी सञ्चालनमा ल्याइएको पनि उक्त प्रेस विज्ञप्तीमा जनाइएको छ ।

यस मध्ये नेपाल टेलिकमले म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीमा ३० मिटरको ग्राउण्डबेस्ड बिटीएस टावर स्थापना गरी २०७४ असार २० गतेदेखि 2G सेवा सञ्चालनमा ल्याएको पनि जनाएको छ । उक्त टावर सञ्चालन पश्चात पाखापानी, कोटडाँडा, ठाडाखानी, रायखोर, चिमखोला, दमीज र कुइनेमंगलेका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु मोबाइल सेवाबाट लाभान्वित हुने पनि उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

साथै बाग्लुङको पयूँपाटा खर्सेडाँडामा बिटीएस टावर स्थापना गरी २०७४ असार २१ गतेदेखि 2G तथा 3G सेवा सञ्चालनमा ल्याएको छ । उक्त टावर सञ्चालनपश्चात पाङ, सर्हसधारा, नयाँपुल, अरमादी र छर्मकेका बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुनेसमेत उल्लेख गरिएको छ । यसले यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *