इन्धन ढुवानी पुनःसञ्चालन

Post Date : May 13, 2016 | 5:47 pm

पर्सा, ३१ वैशाख । ट्याङ्कर चालकले अवरुद्ध गरेको इन्धन ढुवानी आज दिउँसोदेखि खुल्ला भएको छ ।

नेपाली ट्याङ्कर चालकलाई कुटपिट गरेका रक्सौलस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहलाई त्यहाँबाट हटाइएपछि भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी सहज भएको हो ।

दोषी प्रहरीलाई कारबाही र ट्याङ्कर चालकलाई सुरक्षाको प्रत्याभूति गराइएपछि ढुवानी सञ्चालन भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिनुभयो । आज वीरगन्जबाट रक्सौल नाका हँुदै ३० वटा ट्याङ्कर बरौनीका लागि पठाइएको उहाँले बताउनुभयो ।

रक्सौल पुलिसका निरीक्षक साहले माग गरेको घुस दिन नमानेपछि ट्याङ्कर चालकलाई कुटपिट गरी घाइते बनाइएको विरोधमा ट्याङ्कर चालकहरुले बिहीबारदेखि ढुवानी अवरुद्ध गरेका थिए । घुस नदिएपछि लागातार तीन दिनदेखि ट्याङ्कर चालकलाई भारतीय सुरक्षाकर्मीले कुटपिट गर्दा सुरक्षाको माग गर्दै चालकहरुले इन्धन ढुवानीलाई अवरुद्ध गरेका थिए । बरौनीबाट वीरगन्ज नाका हँुदै दैनिक ४० देखि ४५ ट्याङ्कर डिजेल, पेट्रोल तथा हवाई इन्धन भित्रिने गरेको निगमले जनाएको छ । रासस (तस्विर : बिजय कुमार महतो , रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *