क्यापिटल मर्चेन्ट ठगीका अर्का दोषी कार्की पक्राउ

Post Date : February 20, 2017 | 11:34 am

काठमाडौँ, ९ फागुन । क्यापिटल मर्चेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको करोडौँ रुपैयाँ कर्जा अपचलन अभियोगमा अदालतबाट दोषी ठहर भई फरार भएका बुढानिलकण्ठ–५ का मदनबहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ । सिआइबीले कार्कीलाई बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

सिआइबीले कार्कीलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार, सुन्धारा पठाएको छ ।

पुनरावेदन अदालत पाटनले बैंकिङ कसुर मुद्दामा कार्कीलाई २०७१ साल बैशाख २९ गते दोषी ठहर गर्दै ७ करोड ६४ लाख ३ हजार २ सय ४४ रुपैयाँ जरिवानासहित ३ वर्ष कैद सजायको फैसला गरेको थियो ।

क्यापिटल मर्चेन्टको सोही अभियोगमा सिआइबीले यसअघि अरुणकुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला, भाईकृष्ण खड्का र किरणकेशर नेपाललाई फैसला कार्यान्वयनकै लागि पक्राउ गरिसकेको छ । यिमध्ये मराठालाई १३ करोड ३० लाख रुपैयाँ जरिवानासहित ६ वर्ष कैद, खत्रीलाई ६ करोड ५० लाख रुपैयाँ जरिवानासहित ३ वर्ष कैद, धमलालाई २ करोड २० लाख रुपैयाँ जरिवानासहित ३ वर्ष कैद, खड्कालाई ३ करोड ५० लाख रुपैयाँ जरिवानासहित ३ वर्ष कैद र नेपाललाई ९ करोड ४१ लाख ३७ हजार ७ सय ७४ रुपैयाँ जरिवानासहित ३ वर्ष कैदको फैसला गरेको थियो । मुख्य दोषी पवन कार्की अझै फरार छन् । उनले अमेरिकाको नागरिकता लिई त्यहीँ व्यापारमा संलग्न रहेकोले रेड कर्नर नोटिस जारी गरी इन्टरपोलमार्फत नेपाल ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *