छ वर्षदेखि राजस्व बाँडफाँड भएन

Post Date : June 3, 2016 | 5:06 pm

गोरखा, २१ जेठ । जिल्ला विकास समितिले विगत छ वर्षदेखि पर्यटन राजस्व रकम बाँडफाँड गर्न सकेको छैन ।

मनास्लु आरोहण र मनास्लु सर्किट पदयात्रामा आएका पर्यटकबाट सङ्कलित रु तीन करोड ५८ लाख राजस्व बाँडफँडमा ढिलाइ भएको हो । विसं २०६७ देखि पर्यटन राजस्व बाँडफाँड हुन नसकेको स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिनुभयो । सो रकमको ७० प्रतिशत पर्यटन क्षेत्रमा र बाँकी अन्य पूर्वाधार निर्माणमा खर्च गर्न पाइने नियम छ ।

भूकम्पले तहसनहस बनाएको उत्तरी गोरखाको मनास्लु पदमार्ग बजेट अभावका कारण सञ्चालन गर्न सकिएको छैन । लापुभिर–माछाखोला, यारुबगर, सर्दिखोलालगायत ठाउँको पहिरो पन्छाउन नसक्दा १३ महिनादेखि मनास्लु पदमार्ग अवरुद्ध हुँदा उत्तरी भेगमा खाद्यान्न र निर्माणका सामग्री समेत ढुवानी गर्न सकिएको छैन ।

मनास्लु संरक्षण क्षेत्र आयोजनाले उत्तरी भेगका स्थानीय र खच्चड व्यवसायीले पदमार्गको केही खण्ड मर्मत गरेका छन् । पदमार्ग सञ्चालन नहुँदा सिर्दिवास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत, छेकम्पार, काशीगाउँ, केरौँजा, गुम्दा, उहिया गाविसका बासिन्दालाई सदरमुकाम आवतजावत गर्न समस्या हुँदै आएको छ ।

ती गाविसमा खाद्यान्न ढुवानी हुन सकिरहेको छैन । यहाँ खच्चडमार्फत सामान ढुवानी गरिँदै आएको छ । जिल्लाको उत्तरी भेगमा ७०० भन्दा बढी खच्चड पदमार्ग अवरुद्ध भएपछि कामविहीन भएका छन् । आवश्यक बजेट विनियोजन गरेर भत्किएका पदमार्ग मर्मत गर्नुपर्ने खच्चड व्यवसायी सङ्घका जिल्ला अध्यक्ष धनकुमार गुरुङले बताउनुभयो । “अहिलेसम्म पहिरो हटाउन सकिएको छैन,” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *