नवलपरासी औद्यौगिक व्यापार मेला आजदेखि सुनवलमा सुरु

Post Date : December 8, 2016 | 3:13 pm

नवलपरासी, २३ मङ्सिर । आजदेखि सुनवलमा सुरु भएको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्यौगिक व्यापार मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको छ ।

‘शान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ सुरु भएको मेला आगामी पुस ३ गतेसम्म चल्ने छ । जिल्लाका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसार तथा उत्पादित वस्तुको प्रचारप्रसारमा मेला केन्द्रित रहने आयोजक नवलपरासी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिनुभयो ।

मेलाको मुख्य आकर्षणका रुपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहने छ । मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रुपमा रहेको छ । मेलामा कृषि, पर्यटन, उद्योग व्यापार एवम् सूचना प्रविधि सम्बन्धी करिब ३०० वटा कक्ष रहेका छन् । मेलाको करिब तीन लाख दर्शकले अवलोकन गर्ने तथा रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

यसैबीच उपराष्ट्रपति पुनले आजै भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपाको अवलोकन गर्नुभयो । उपराष्ट्रपति पुनले दीप प्रज्वलन गरी स्तूपाको ऐतिहासिक महत्वबारे जानकारीसमेत लिनुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *