नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सम्पन्न

Post Date : March 13, 2017 | 8:40 pm

काठमाडौँ, ३० फागुन । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारणसभा २०७३ फागुन ३० गते काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७२।७३ को मुनाफा रकम मध्येबाट स्वीकृत चुक्ता पूँजीको ५१ प्रतिशतका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने, कम्पनीको नियमावलीमा संसोधन लगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौँमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७२।७३ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७३ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७२÷७३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिसबमोजिम आ. व. २०७३/७४ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टड एकाउण्टेण्ट सुबोध कुमार कर्णलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले साधारणसभामा उपस्थित शेयर धनीहरुलाई स्वागत गर्दै कम्पनीको नवौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदन पेश गर्दै उहाँले कम्पनीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पुरयाउँदै ग्राहक आधारमा उत्साहप्रद विस्तार तथा मुनाफा आर्जन गर्न सफल भएको बताउनु भयो । उहाँले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले आर्थिक वर्ष २०७२।७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै सो अवधिमा कुल राजस्व ३.६८ प्रतिशतले वृद्धि गरी खुद मुनाफा रु. १३ अर्ब ६८ करोड कायम राख्न कम्पनी सफल भएको र गत आर्थिक वर्षको तुलनामा १५.६५ प्रतिशतले ग्राहक संख्या वृद्धि भएको जानकारी दिनुभयो ।

उहाँले सेवा विस्तारको कार्यलाई नाफामूलक क्षेत्रहरूमा मात्र सीमित नराखी तुलनात्मकरुपमा लगानी बढी हुने अति विकट तथा दुर्गम क्षेत्रहरूमा समेत निरन्तरता दिइराखेको र सावर्जनिक खरिद ऐन, २०६३ को पहिलो संशोधन २०७३ बाट वोलपत्र, खरिद सम्झौता लगायतका प्रावधानमा भएका संशोधनलाई समावेश गर्न कम्पनीको खरिद कार्यविधि मस्यादौ तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको थियो । कम्पनीको सेवा विस्तारमा र सेवाको गुणस्तर कायम गर्न अहं भूमिका निर्वाह गर्ने आपूर्तिकर्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई थप जिम्मेवार भई कम्पनीसँग सहकार्य गर्न अभिपे्ररित गर्न खरिद सम्झौतामा नै यथोचित व्यवस्था मिलाउने गरी प्रकृया शुरु भएको समेत जानकारी दिनु भयो ।

कम्पनीका अध्यक्षले साधारण सभामा शेयरधनी महानुभावहरुले उठाउनु भएका विभिन्न प्रश्नको जवाफ दिँदै कम्पनीलाई सक्षम र प्रतिस्पर्धी बनाउँदै सेवाग्राहीले तिरेको सेवाको मुल्यलाई सन्तुष्टिमा परिणत गरिने बताउनु भयो । उहाँले रणनितिक योजनालाई समय अनुकुल बनाउने, आयोजनाहरुलाई समयमै सम्पन्न गर्न योजनाबद्धरुपमा अघि बढिने बताउँदै रणनितिक साझेदार बर्तमान आवश्यकता भएकोले यससम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गरिने बताउनु भयो । उहाँले आगामी दिनमा गुणस्तरीय सेवा दिदै कम्पनीलाई सँधै देशको एक नम्बर सेवाप्रदायकको रुपमा राखी शेयर धनीहरुलाई अझ बढी प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । वहाँले लाभांश रकम २०७३ चैत्र १ गते देखि शेयरधनीहरुलाई वितरण गरिने सो अवसरमा जानकारी गराएको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *