नेपाल बंगलादेश बैंकले सी.ए. पढ्ने विद्यार्थीलाई कर्जा दिने

Post Date : September 29, 2016 | 10:22 am

काठमाडौं, १३ असोज । नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी) र नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आईक्यान) बीच चार्टर्ड एकाउण्ट (सीए) पढ्नको लागि शैक्षिक कर्जा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र नेपला चार्टर्ड एकाउण्टेन्ट्स संस्थाका अध्यक्ष महेश खनालले हस्ताक्षर गर्नु भयो ।

सम्झौतापछि आईक्यानले संचालन गर्ने चार्टर्ड एकाउण्टेन्सी शिक्षाको अन्तिम तहमा भर्ना भएका विद्यार्थीलाई अध्ययनको क्रममा सहयोग पुरयाउनका लागि सहुलियत दरमा ३ लाख रुपैया सम्मको शैक्षिक कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले घोषणा गरेको शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा प्रवाह गर्ने नीतिलाई सहयोग पुरयाउने उद्देश्यले उक्त कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

सोही कार्यक्रममा आईक्यानको सातदोबाटो, ललितपुरस्थित भवनमा बैंकले स्थापना गरेको एक्सटेन्सन काउण्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र आईक्यानका अध्यक्ष महेश खनालले संयुक्तरूपमा उद्घाटन गर्नु भएको छ ।

नेपाल बंगलादेश बैंकले आ.व. २०७२/७३ को असारसम्ममा ३९ अर्ब ८७ करोड ४२ लाख रुपैया निक्षेप संकलन, ३२ अर्ब ५२ करोड ८३ लाख रुपैया कर्जा प्रवाह गरी १ अर्ब १९ करोड ८२ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ । बैंकको चुक्ता पूँजी भने ३ अर्ब ३ करोड ९२ लाख रुपैया रहेको छ ।

बैंकले आ.व. २०७२/७३ को खुद मुनाफा मध्येबाट आफ्ना शेयरधनीलाई ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपश्चात हुन आउने रकममा १० बराबर ८ का अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *