पूर्वपश्चिम गन्तव्यको घुमफिर प्याकेज

Post Date : November 10, 2016 | 4:55 pm

काठमाडौँ, २५ कात्तिक । नेपाल पर्यटन बोर्डले घुमफिर वर्षलाई मध्यनजर गरी नयाँ पर्यटकीय प्याकेज तयार गरेको छ ।

निजी पर्यटन व्यवसायीको छाता सङ्गठनसँगको साझेदारीमा बोर्डले पूर्वदेखि पश्चिमसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्याकेज तयार गरेको हो ।

नेपालीलाई घुम्न सजिलो होस् र आन्तरिक पर्यटक बढुन् भन्ने उद्देश्यले घुमफिरको प्याकेज बनाएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिनुभयो । “पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थान र गतिविधिलाई समेटेर प्याकेज बनाएका छौँ, यी प्याकेजलाई नमुनाका रुपमा १० वटाबाट सुरु गरेका छौँ, प्याकेजले नेपालीको यात्रालाई सहज र सुलभ बनाउनेछ,” उहाँले भन्नुभयो ।

बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो)नेपालसँगको सहकार्यमा प्याकेज सार्वजनिक गरेको छ ।

नयाँ गन्तव्यसहितका प्याकेज व्यवसायीसँगको सहकार्यमा बनाइएकाले पर्यटकका लागि उपयोगी र प्रभावकारी हुने सुवेदी बताउनुहुन्छ । घुमफिर प्याकेजमा नयाँ गन्तव्य नै बढी छन् । रारा तालदेखि खप्तडसम्मका प्याकेजलाई प्रवद्र्धन गरिनुका साथै सेवाग्राहीको सिधै पहुँचका लागि अनलाइनमा समेत राखिएको बोर्डले जनाएको छ ।

पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथीभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्बिनी–स्वर्गद्वारी भ्रमण, रारा टुर रहेको छ । ट्रेकिङ, राफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेज पनि सम्बन्धित संस्थाको सहकार्यमा आउने बताइएको छ ।

सरकारले बजेट वक्तव्य तथा नीति कार्यक्रममा सन् २०१७ लाई घुमफिर वर्षका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसअनुरुप मातहत निकाय र निजी सङ्घसङ्स्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *