पूर्वाञ्चलमा विश्व बैङ्कको रु २८ करोड अनुदान

Post Date : February 7, 2017 | 3:49 pm

विराटनगर, २५ माघ । कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ ।

विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै व्यवसायीकरण गर्नेतर्फ अग्रसर भएको देखिन्छ ।

पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत सञ्चालित १५ वटा संयुक्त आयोजना र ४४ वटा उप आयोजना सञ्चालनमा छन् । ती मध्ये सप्तरीमा ६, झापामा तीन, सिरहामा तीन, र सुनसरी, उदयपुर, र खोटाङमा एक– एकवटा आयोजना सञ्चालनमा रहेका कृषि तथा व्यापार आयोजना कार्यालय विराटनगरका प्रमुख भानुभक्त मैनालीले बताउनुभयो ।

ती कार्यक्रमका माध्यमबाट किसानबीच रु १८ करोड ६८ लाख ७२ हजार विश्व बैङ्कको अनुदान रकम वितरण गरिएको छ । कूल रु ४९ करोड ९१ लाख ३९ हजार लागतमा सो कार्यक्रम सञ्चालनमा रहेको छ । निजीस्तरमा आयोजना सञ्चालकलाई आयोजनाको लागतको ३० प्रतिशत र समूह वा सहकारीमार्फत आयोजना सञ्चालकलाई अनुदान रकम ५० प्रतिशत दिने गरिएको छ ।

आयोजना सञ्चालकले पेस गरेका आवेदनको वस्तुस्थिति अध्ययन गरी केन्द्रबाट छनोटमा परेका संस्थालाई रु १४ लाखदेखि रु ९९ लाखसम्म अनुदान उपलब्ध गराइएको छ । निजीस्तरमा र सहकारीमार्फत सञ्चालित आयोजनाको कार्य प्रगतिको आधारमा तीन किस्तामा रकम उपलब्ध गराउने नीतिअनुरुप अधिकांशलाई दुई किस्ता उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

विसं २०७३ जेठ महिनादेखि प्रक्रिया सुरु भएको उक्त कार्यक्रममार्फत छनोटमा परेका संस्था वा व्यक्तिसँग गत मङ्सिरमा सम्झौंता भई कार्य दू्रतगतिमा भइरहेको छ । सो आयोजनाको अवधि एक वर्ष मात्र रहेकाले आउँदो डिसेम्बर महिनामा योजना सम्पन्न हुनेछ ।

छनोटमा परेका जिल्लाका किसान वा सहकारीले खासगरी कृषि कार्यक्रमअन्तर्गत तरकारीखेती, माछाखेतीका लागि र पशुसेवातर्फ डेरी, बङ्गुरपालन, कुखुरापालनका लागि अनुदान रकम प्राप्त गरेको बताइएको छ । अनुदान रकम वितरण गरिएपछि कार्यप्रगतिको अध्ययन गर्नका लागि विश्व बैङ्कका प्रतिनिधि, कृषि मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोगका उच्च पदस्थ पदाधिकारी र कार्यालयबाट पनि पटक/पटक अनुगमन कार्यलाई निरन्तरता दिने गरिएको आयोजना प्रमुख मैलानीले बताउनुभयो ।

पूर्वाञ्चलका सोलुखम्बु, खोटाङ, सङ्खुवासभा र ओखलढुङगामा लघु अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममार्फत रु नौ करोड ८५ लाख वितरण गरिएको छ । आव २०७१÷७२ देखि सुरु भएको सो कार्यक्रमअन्तर्गत किसानसँग २०६ वटा सम्झौता भएका थिए । सो कार्यक्रममार्फत किसानलाई बढीमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *