भूकम्प प्रतिरोधी भवन बनाउने तालिम

Post Date : July 10, 2016 | 2:30 pm

भक्तपुर, २६ असार । अब बन्ने घरलाई भूकम्पीय जोखिमबाट बचाउन गाउँ गाउँमा भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी निःशुल्क तालिम सञ्चालन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरले जिल्लाका नगरकोट, चाँगुनारायण र अनन्तलिङ्गेश्वर नगरपालिकामा आठ चरणमा डकर्मीका लागि तालिम सञ्चालन गरेको हो । सोसाइटी भक्तपुरका सभापति एवम् केन्द्रीय सदस्य मनोज थापाले रेडक्रसले भूकम्प प्रतिकार्य कार्यक्रमबाट तीन नगरपालिकामा घर बनाउँदै हिँड्ने डकर्मीलाई यस प्रकारको तालिम सञ्चालन गरेको बताउनुभयो ।

थापाले भन्नुभयो˗‘भूकम्प फेरि पनि नआउला भन्न सकिन्न, अब बन्ने घर तथा भवन भूकम्प प्रतिरोधी हुनु जरुरी छ, त्यसैले रेडक्रसले भूकम्पबाट अति प्रभावित १४ वटै जिल्ला र लमजुङ तथा तनहँुमा गरी १६ वटा जिल्लाका डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम सञ्चालन गरेको हो, त्यो अन्तर्गत भक्तपुरका तीनवटा नगरपालिकामा तालिम सुरु भइसकेको छ ।’

प्रत्येक जिल्लामा डकर्मीको आवेदन आह्वान गरी नियमित रुपमा घर बनाउने कामलाई मुख्य पेसा बनाएका डकर्मीको छनोट गरी तालिममा सहभागी गराइएको छ । नगरकोट नगरपालिका अन्तर्गत ताथली, सुडालबाट तालिम सुरु भई हाल चाँगुनारायण नगरपालिकाको दुवाकोटमा पनि सञ्चालन भइरहेको सोसाइटी भक्तपुरका महामन्त्री शिवहरि केसीले जानकारी दिनुभयो ।

नगरकोट नगरपालिकाका १० वडाका डकर्मीलाई तीन चरणमा, चाँगुनारायण नगरपालिकाका आठ वडाका डकर्मीलाई तीन चरणमा र अनन्तलिङ्गेश्वर नगरपालिकाका दुई वडाका डकर्मीलाई दुई चरण गरी आठ चरणमा दुई सय ४० जनालाई तालिम दिएर दक्ष बनाइने भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

तालिममा जगदेखि छानोसम्मको निर्माणमा आवश्यक सम्पूर्ण ज्ञान दिई दक्ष बनाएर प्रमाणपत्र प्रदान गरिनेछ । सहरी विकास तथा भवन निर्माण विभागले निर्धारण गरेको पाठ्यक्रमका आधारमा डकर्मीको सीप वृद्धि गरेर भूकम्पप्रतिरोधी घर बनाउन सक्ने बनाइने सापकोटाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *