मध्यपहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई अख्तियारी

Post Date : September 28, 2016 | 3:28 pm

काठमाडौं, १२ असोज । मध्य पहाडी लोकमार्ग अन्तर्गत पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउने सम्बन्धमा नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण बीच आज (२०७३ असोज १२ गते) सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हस्ताक्षर गर्नुभयो ।

optical-agreement2

सम्झौता अनुसार मध्य पहाडी लोकमार्गको सो क्षेत्रमा नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि आवश्यक रकम नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमार्फत उपलब्ध गराउने छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत चियो भञ्ज्याङदेखि आरुघाटसम्म कुल ८०४ किलोमिटर तथा उक्त मार्गको उत्तर-दक्षिण क्षेत्रमा १५ सय ७२ किलोमिटरको Spur Link गरी कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल नेटवर्क सहित १००जी (100G) क्षमताको पूर्वाधार २ वर्षमा विस्तार गरिने छ । नेपाल टेलिकमले लोकमार्गमा ९६ कोर गुणस्तरको अप्टिकल फाइबर बिछ्याउने छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरको हुनेछ । उक्त सडक खण्डको उत्तर दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गत पर्ने ३२ जिल्लाका सदरमुकाम तथा नगरपालिका र गाउँहरुमा अप्टिकल नेटवर्क विस्तार गरिने छ ।

गत असार १५ गते यसका लागि कम्पनी र नेपाल दूरसञ्चार प्राधिकरण बीच समझदारी पत्र (MOU) मा हस्ताक्षर भइसकेको थियो ।

सरकारको ७५ जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाविस, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पुरयाउने नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात हुन लागेको हो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले अब लामो समयदेखि अनिर्णित अवस्थामा रहेको ग्रामीण दूरसञ्चार कोषको रकम सदुपयोग हुने र यसले सबै क्षेत्रमा सूचना प्रविधि सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताउनु भयो । उहाँले नेपाल टेलिकमले एउटा ऐतिहासिक अवसर प्राप्त गरेको र २ बर्ष भित्रमा यो आयोजना सम्पन्न गरी एउटा इतिहास कायम हुने बताउनु भयो ।

दूरसञ्चार सेवा प्रदायकहरुबाट आवश्यक पूर्वाधार निर्माण गराउने, सरकारी निकायबाट न्युनतम सुविधा उपलब्ध गराउने र निजी क्षेत्रबाट प्रविधि हस्तान्तरण गराउने सरकारको योजना रहेको र यी तीन निकाय बीचको साझेदारी र सहकार्यबाट नै आगामी दिनमा नेपालका सबै स्थानमा सूचना प्रविधिका सबै सेवा उपलब्ध गराइने उहाँले बताउनु भयो ।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सरकारको सन् २०१५ को ब्रोडब्यान्ड नीति र सूचना तथा सञ्चार प्रविधि नीतिमा उल्लेख भएका लक्ष्य प्राप्त गर्नका लागि यो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । आगामी २ बर्ष भित्रमा यो क्षेत्रका हरेक गाउँ र सहरमा ब्रोडब्यान्ड कनेक्टिभिटी उपलब्ध गराउन सकिने र यसबाट सबैले इन्टरनेट सेवा प्राप्त गर्न सक्ने बताउनु भयो । नेपाल टेलिकमले यस्तो महत्वाकांक्षी योजना सम्पन्न गर्ने चुनौती स्वीकारेकोमा उहाँले धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यको जिम्मेवारी नेपाल टेलिकमलाई दिएकोमा नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अधिकांश स्थानमा ट्रयाक नखुलेको र विद्युत लाइन तथा अन्य कार्यका लागि विभिन्न निकायसँग सहकार्य गर्नु पर्ने आवश्यकता भएकोले यसका लागि सम्बन्धित मन्त्रालय तथा प्राधिकरणको सहयोगको अपेक्षा समेत गर्नु भयो । उहाँले कम्पनीलाई दिइएको जिम्मेवारी समयमै पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *