रु बाह्र अर्ब राजस्व सङ्कलन

Post Date : July 22, 2016 | 2:11 pm

चितवन, ७ साउन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आव २०७२/७३ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले रु ११ अर्ब ९२ करोड ५७ लाख २९ हजार लक्ष्य लिएकामा रु १२ अर्ब १६ करोड ५६ लाख ५४ हजार राजस्व सङ्कलन गरेको हो । सो रकम अघिल्लो आवभन्दा करिब रु २४ करोड बढी हो । आव २०७१/७२ मा रु नौ अर्ब २९ करोड ४१ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु नौ अर्ब ९६ करोड ३९ लाख २१ हजार राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयका कर अधिकृत गुणराज पोखरेलका अनुसार आयकरतर्फ रु ९६ करोड ६२ लाख ९८ हजार, घरबहाल करतर्फ रु सात करोड ४२ लाख ७४ हजार, ब्याज करतर्फ रु पाँच करोड ४९ लाख ४६ हजार, मूल्य अभिवृद्धि (भ्याट)तर्फ रु ७५ करोड १९ लाख ६६ हजार, अन्तःशुल्कतर्फ रु १० अर्ब २५ करोड नौ लाख ९४ हजार, स्वास्थ्य सेवा करतर्फ रु चार करोड ८२ लाख २० हजार र शिक्षा सेवाकरतर्फ रु एक करोड ८९ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयले स्वास्थ्य सेवा करमा लक्ष्यको ४५ दशमलव १३ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । रु १० करोड ६८ लाख ५१ हजार स्वास्थ्य सेवा कर उठाउने लक्ष्य लिएको कार्यालयले रु चार करोड ८२ लाख २० हजार मात्रै सङ्कलन भएको छ ।

कार्यसम्पादन परिसूचकका आधारमा आन्तरिक राजस्व कार्यालय भरतपुर देशभरका ४९ वटा कार्यालयमध्ये उत्कृष्ट भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माका अनुसार प्रारम्भिक तथ्याङ्कका आधारमा भरतपुर उत्कृष्ट भएको हो । यस्तै आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर दोस्रो र बुटवल तेस्रो भएका छन् ।

राजस्व विभागले कार्यसम्पादन परिसूचक तोकेको हुन्छ । मुख्य परिसूचक राजस्व सङ्कलन हो भने अन्य परिसूचकमा बक्यौता असुली, बेरुजु फछ्र्योट, करदाता शिक्षा कार्यक्रम, करको दायरा विस्तार, आय विवरण प्राप्ति, छानबिन, बजार अनुगमन, गोदाम परीक्षण, अनुसन्धान, पूर्णकर परीक्षण, थप करलगायत पर्छन् । ती परिसूचकहरुमा अगाडि परेसँगै भरतपुर उत्कृष्ट भएको शर्माले बताउनुभयो ।

कार्यालय प्रमुख टीकाराम भुसालका अनुसार व्यक्तिगत करदाता तीन हजार १२४ र व्यावसायिक करदाता दुई हजार २६४ थपिएका छन् । यस अवधिमा दुई हजार ६५५ अन्तःशुल्क लाग्ने मदिराका लाइसेन्स नवीकरण र दर्ता भएका छन् भने २२ हजार करदाताले आयकर बुझाएका छन् । कार्यालयले रु ३० करोड बक्यौता असुल गर्न बाँकी छ ।

छानबिन तथा कारबाहीका क्रममा १६१ करदाताको पुनः कर परीक्षण गरी रु ११ करोड नोक्सानी अस्वीकृत गरिएको र रु तीन करोड ५० लाख थप जरिवाना गरिएको छ । विस्तृत छानबिनका क्रममा ३४ करदातालाई रु दुई करोड १० लाख कर निर्धारण गरिएको र ५५ करदाताको गोदाम निरीक्षण गरी रु एक करोड ३४ लाख थप कर लगाइएको भुसालले बताउनुभयो । राजस्व कार्यालयका ३७ हजार व्यावसायिक, २५ हजार व्यक्तिगत र पाँच हजार ८०० मूल्य अभिवृद्धि करका करदाता रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *