विदेशी नागरिकलाई परिवर्त्य विदेशी मुद्रा पठाउन सहज

Post Date : September 13, 2016 | 3:40 pm

काठमाडौं, २८ भदौ । विदेशी नागरिकले नेपालमा बसेर काम गरी आफ्नो मुलुकमा पारिश्रमिक रकम पठाउँदा नेपाल राष्ट्र बैंकको अनुमति लिनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकिएको कागजातसहित वाणिज्य बैंक र विकास बैंकबाट सिधै सटही गरी पारिश्रमिक आफ्नो मुलुक पठाउन सक्नेछन् । यसबारे नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकलाई परिपत्र जारी गरिसकेको छ ।

यसअघि नेपालमा बसेर काम गर्ने भारतीय बाहेक अन्य मुलुकका व्यक्तिले परिवत्र्य विदेशी मुद्रामा आफ्नो पारिश्रमिक पठाउँदा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था थियो ।

नया व्यवस्था अनुसार अब नेपाल बसेर काम गर्ने विदेशीले परिवत्र्य मुद्रामा पारिश्रमिक पठाउँदा कुल आम्दानीबाट कर कट्टीपछि आउने रकमको बढीमा ७५ प्रतिशत परिवर्त्य विदेशी मुद्रा आफ्नो मुलुकमा पठाउन सक्नेछन् । यसबाट धेरै विदेशी नागरिक लाभान्वित हुनेछन् ।

यस्तो रकम बढीमा मासिक ३ हजार अमेरिकी डलरका दरले वार्षिक ३६ हजार अमेरिकी डलरसम्म पठाउन सकिने नेपाल राष्ट्र बैंकद्वारा जारी परिपत्रमा जनाइएको छ । तर सञ्चयकोष र अवकाश कोषमा जम्मा भएको रकमको हकमा भने कर कट्टीपछि सबै रकम पठाउन सक्ने व्यवस्था विदेशी विनिमय व्यवस्थापन विभागको परिपत्र नं. ६६० मा उल्लेख छ ।

यसरी आफ्नो मुलुकमा परिवर्त्य विदेशी मुद्रा पठाउनको लागि रोजगारदाता कम्पनीको सिफारिस, श्रम विभागको श्रम स्वीकृति पत्र, कर्मचारीको परिचयपत्र, नियुक्तीपत्र, कर तिरेको प्रमाणपत्र र प्रवेशाज्ञा (भिसा) पत्र पेश गर्नु पर्नेछ ।

नेपालमा बसेर काम गर्ने भारतीय नागरिकले नया व्यवस्था अनुसार ७५ प्रतिशत रकम नै पठाउन पाउने भएको छ । तर अन्य देशका विदेशी नागरिकले बुझाउने कागजात भन्दा भारतीय नागरिकले कम कागजात बुझाए पुग्छ । भारतीय नागरिकहरूले भारतीय रुपैया पठाउन झनै सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *