हलेसीमा होटल व्यवसायीलाई तालिम

Post Date : June 8, 2016 | 11:39 am

खोटाङ, २६ जेठ । परम्परागत रुपमा सञ्चालन भइरहेका होटल तथा लजको स्तरोन्नतिका लागि उद्योग वाणिज्य सङ्घ खोटाङले दुई जिल्लाका व्यवसायीलाई हलेसीमा व्यवस्थापन तालिम दिएको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा वाणिज्य सङ्घले खोटाङ र ओखलढुङ्गाका ३५ जना व्यवसायीलाई व्यवस्थापन तालिम दिएको हो । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकको चापलाई मध्यनजर गर्दै व्यवसायीलाई पाँचदिने व्यवस्थापन तालिम दिइएको सङ्घका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

“पर्यटकको बढी आवतजावत हुने रोड करिडोर तथा प्रमुख व्यापारिक केन्द्रका व्यवसायीलाई तालिम दिइएको छ”, उहाँले भन्नुभयो, “तालिमपश्चात् उनीहरुले ग्राहकको इच्छा र चाहनाअनुसार होटल तथा लजलाई सुधार गर्ने विश्वास गरिएको छ ।”

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीस्थित होटल हलेसी भिलेजमा गत जेठ २० गतेदेखि सञ्चालन गरिएको तालिम मङ्गलबार समापन गरिएको छ । तालिममा सहभागी व्यवसायीलाई होटल तथा लज सञ्चालनका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट सीप सिकाइएको सङ्घका सचिव मनोज बजिमयले बताउनुभयो ।

दिक्तेल–कटारी सडकखण्डमा पर्ने जयरामघाट, च्यास्मिटार, हलेसी, अर्खौले, नुनथला, हुर्लुङ, दिक्तेल तथा दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने भँडारेघाट, बुइपाका व्यवसायीलाई होटल तथा लज व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । तालिममा इलाकास्तरका सरकारी कार्यालय रहेको ऐँसेलुखर्क र खोटाङबजार लगायतका प्रशासनिक केन्द्रका व्यवसायीलाई समेत समावेश गराइएको आयोजकले जनाएका छन् ।

जिल्लामा परम्परागत रुपमा सञ्चालन भइरहेका अधिकांश साना होटल तथा लज व्यवस्थित छैनन् । जिल्लाका होटल र लजका टेबल, थाल, चम्चादेखि शौचालय, ओछ्यान समेतको सरसफाइमा व्यवसायीले ध्यान दिएको पाइन्न । यति मात्रै हैन, जिल्लाका होटल व्यवसायीको व्यवहार ग्राहकमैत्री छैन । यिनै कमजोरी पक्ष सुधारका लागि तालिमको आयोजना गरिएको वाणिज्य सङ्घले जनाएको छ ।

व्यवसायीलाई ग्राहकमैत्री बनाउन ग्राहकसँग गर्नुपर्ने सत्कार, सम्मान र व्यवहार, सरसफाइ, स्थानीय खाद्यान्नको उपयोगबाट थरीथरीका परिकार तयार पार्ने लगायतका सीप सिकाइएको जनाइएको छ । जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, तुवाचुङ, रुपाकोट, बराहापोखरी, मझुवागढी, जन्तेढुङ्गालगायत महत्वपूर्ण ठाउँमा होटल धमाधम खुल्न थालेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *