८ मेगावाटको नौगड गाढ साना जलविद्युत आयोजनामा दुई बैंकले १ अर्ब लगानी गर्ने

Post Date : January 26, 2017 | 5:46 pm

काठमाडौँ, १३ माघ । वि.सं. २०६० साल असार ५ गते स्थापना भई जलविद्युत आयोजनाको पहिचान, विकास, निर्माण र संचालन गर्ने उद्देश्य लिएर स्थापित अपि पावर कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा बहने नौगड गाढ नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यो आयोजनाको कुल लागत रु.१४४ करोड हुने अनुमान छ । यस मध्ये रु.१०० करोड (७०%) बैंक ऋण र ४४ करोड (३०%) शेयरधनीको लगानी रहने छ ।

यसमा नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले रु.१०० करोड ऋण उपलब्ध गराउने सम्बन्धित सम्झौता २०७३ माघ १२ गते ट्रेड टावर विजनेश सेन्टर, थापाथलीको सभा कक्षमा सम्पन्न भएको छ । श्री नेपाल एस.बि.आई. बैंक लिमिटेडले रु. ५५ करोड र प्रभु बैंक लिमिटेडले रु.४५ करोड गरि जम्मा रु.१०० करोड ऋण प्रवाह गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ । यस सम्बन्धि जानकारी गराउँदै कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिनुभयो ।

यो आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ कि.मि. लामो ३३ kV ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ kV ट्रान्समिशन लाईन मार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुनेछ ।

कम्पनीले यस अघि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भदौदेखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।

स्मरण होस् नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाचँ–अत्तरीया १३२ के.भि ट्रान्समिशन लाइनको निर्माण पूरा भएतापनि लाइन चार्ज हुन सकेको छैन । डबल सर्किट भएको टावरमा दोश्रो सर्किटमा तार ओछ्याउने काम हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *