हिमपातले ढाक्यो कर्णाली, जनजीवन प्रभावित

Post Date : March 10, 2017 | 4:56 pm

जुम्ला, २७ फागुन । एकसातादेखि मौसममा बदली भई चिसो बढ्दै जाँदा भएको भारी हिमपातले कर्णाली पुनः ढाँकिएको छ ।

हिमपातले सबैभन्दा यहाँका बालबालिका, महिला, वृद्ध, अशक्त अपाङ्गलाई बढी समस्या परेको छ । घरबाट बाहिर जानसक्ने सहज अवस्था छैन् । यसले स्थानीयवासीको दैनिक कामकाज ठप्प भएको छ ।

पानीपँधेरो, आवातजावत गर्न र मेलापातमा जान ठूलो समस्या भएको चन्दननाथ नगरपालिका–८ का स्थानीय महिला सम्झना महतले जानकारी दिनुभयो । हिमपातका कारण हिउँले गरिब घरपरिवार र खासगरी उच्च भागमा बस्ने समुदायको जनजीवन कष्टकर बनेको छ ।

कर्णालीका मुगु, डोल्पा, हुम्ला, डोल्पा हिउँले सेताम्य भएको छ भने कर्णालीको माथिल्लो भेकमा जनजीवन प्रभावित भएको जनाइएको छ । दक्षिणी र पश्चिमी वायुको प्रभावका कारण हिमपात भएको हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले जानकारी दिनुभयो ।

चिसोले चार डिग्री सेन्टिग्रेड तापक्रम एकाएक ०.४ डिग्री सेल्सियसमा झरेको कार्यालय प्रमुख चौरासियाले बताउनुभयो । उहाँका अनुसार भोलिसम्म मौसम सफा हुँदै जानेछ ।

हिमपातले किसानमा खुसी छाएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताउनुभयो । यसले अब किसानलाई नयाँबाली लगाउन र हिउँदेबाली सप्रन सहयोग पुग्ने वरिष्ठ कृषि विकास अधिकृत कँडेलेको भनाइ छ ।

हिमपात हुँदा सदरमुकामा विद्युत् अवरुद्ध भएको छ । फ्याक्स, फोटोकपी, प्रिन्टर अफसेट मेसिनले काम गर्न छोडेका छन् । लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा अवरोध पुगेको छ । यहाँको सिङ्जा, कर्णाली र नारी एफएम् रेडियो पनि चलेका छैनन् । सरकारी कार्यालय खुलेपनि हिमपातले सेवाग्रही आउन नसकेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *