अन्तराष्ट्रिय सहकारी महासङ्घको साधारणसभा हुँदै

Post Date : July 9, 2016 | 9:00 am

काठमाडौँ, २४ असार । अन्तराष्ट्रिय सहकारी महासङ्घको एसिया–प्यासिफिक सङ्गठनको साधारणसभा यही असार २८ देखि ३० गतेसम्म यहाँ हुने भएको छ ।

हरेक दुई वर्षमा हुने सो साधारणसभामा इरान, फिलिपिन्स, थाइल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, चीन, नेपाल तथा भारतका २० संस्थाका २५० जनाको सहभागिता रहने बताइएको छ ।

कृषि सहकारीको विकास सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सभामा जडीबुटी, मह र चिसो पानीको माछा ट्राउटसम्बन्धी छलफल हुने र भारत र फिलिपिन्सबाट पाँच वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले नेपालमा सहकारीमार्फत जडीबुटी, मह तथा ट्राउट माछाको विकास तथा प्रवद्र्धनको सम्भावना भएकाले यो सम्भावनालाई यथार्थमा परिणत गर्न यो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

कृषि केन्द्रीय सहकारी सङ्घका अध्यक्ष खेम पाठकले देशका आर्थिक विकासको पूर्वाधारको रुपमा सहकारी रहेकाले यसको विकासका लागि सरकार, सहकारीमा लाग्ने व्यवसायीको ध्यान जानुपर्ने बताउनुभयो ।

भारतका वरिष्ठ सहकारी विशेषज्ञ दमन प्रकाशले नेपालले सहकारीको विकासबाट धेरै लाभ लिन सक्ने विचार व्यक्त गर्नुभयो ।

सांसद ओमदेवी मल्लले नेपालमा सहकारीको क्षेत्रबाट कृषिको विकास भए पनि बजारको अभाव रहेको बताउनुभयो । राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले बैंकले कृषि क्षेत्रमा लगानीलाई बढी प्राथमिकता दिएको बताउँदै हाल यो बैंकमा आठ हजार २०० संस्था आबद्ध रहेको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *