कम्पनी ऐन, २०६३ स्वीकृत

Post Date : February 21, 2017 | 8:37 am

काठमाडौँ, १० फागुन । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७३ लाई हिजो संशोधनसहित स्वीकृत गरेको छ ।

समितिको आजको बैठकले संशोधनसहित समितिबाट पारित भएको उक्त विधेयक संसद्को आगामी बैठकमा प्रस्तुत गरिने निर्णय गरेको छ । उक्त विधेयकले उद्योग क्षेत्रमा लगानीमैत्री बनाउनाका साथै श्रमिकको सम्मान गर्ने विश्वास गरिएको छ । विधेयकले उद्योग खोल्नेलाई विस्तार गर्न र बन्द गर्न पाउने अधिकारको सुनिश्चितता गरेको समितिका सभापति भीष्मराज आङ्दाङ्वेले जानकारी दिनुभयो ।

उद्योग मन्त्रालयका सचिव शङ्कर कोइरालाले उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन गर्न विधेयकले महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै विधेयक पारित भएपछि उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र नीतिगत सुधारलाई सरल र सहज तुल्याउने बताउनुभयो ।

समितिका सदस्य एवम् पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संशोधित विधेयकले मुलुकमा उद्योग व्यवसाय सञ्चालनका लागि आकर्षण पैदा गर्नाका साथै वैदेशिक लगानीका उद्योग सञ्चालनमा बढावा दिने छ भन्नुभयो ।

बैठकमा राजनीतिक सङ्क्रमणलगायत विविध कारणले उद्योग क्षेत्र धराशयी भई सञ्चालकले तिर्नुपर्ने जरिवानाको अङ्क सुनेर रुवावासी हुने अवस्थालाई विधेयकले अन्त्य गर्ने धारणा राखिएको थियो । विधेयकमा आवश्यक सर्त र मापदण्डसहितको कागजात पेस गरिएका अवस्थामा उद्योग सञ्चालनका लागि निवेदन दिइएको सात दिनभित्र अनुमति दिनुपर्ने र त्यसो हुन नसकेमा प्रस्तावित कम्पनीलाई तीन दिनभित्र नहुनाको कारणसहितको जानकारी दिनुपर्ने प्रस्ताव गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *