कृषिमा आधुनिक प्रबिधिको प्रयोग गर्दै सापकोटा

Post Date : April 12, 2017 | 6:12 pm

ढोडेनी (बागलुङ), ३० चैत । बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गर्नुभएको छ ।

तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उहाँले ‘हाइटेक टनेल’ भित्र तरकारी खेती गर्नुभएको हो । विगत २५ वर्षदेखि तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका ४३ वर्षीय सापकोटाद्वारा सञ्चालित कालीगण्डकी कृषि फार्ममा पाँचवटा ठूला टनेल (प्लास्टिक घर) रहेका छन् ।

एकतले घरभन्दा अग्लो र डेढ रोपनी क्षेत्रफलसम्म फैलिएको प्लास्टिकले छाएको हाइटेक टनेललाई किरा छिर्न नमिल्ने मसिनो जालीले बेरिएको छ । उहाँले टनेलभित्र गोलभेँडा, खुर्सानी, घिरौँला, बोडी, गाजरलगायत मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ ।

लहरेबालीका लागि स्थायी प्रकृतिको झाल बनाइएको टनेलभित्र लगाइएको प्रत्येक बिरुवाको जरामा थोपा प्रविधिबाट सिँचाइ गर्ने व्यवस्था मिलाइएको छ । “टनेलभित्र बेमौसमी तरकारी खेती गरेर बढी मूल्य पार्न सकिनुका साथै रोग कम लाग्ने, उत्पादन गुणस्तरीय हुने र श्रमशक्तिको बचत हुने भएकाले यस्तो प्रविधिको प्रयोग गरेको हुँ,” सापकोटाले भन्नुभयो ।

गाईभैँसीको गहुँत सङ्कलन गरेर विषादीका रुपमा प्रयोग गरिएको छ । खुल्ला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उहाँ बताउनुहुन्छ । “तीन वर्षदेखि नयाँ प्रविधि अपनाएको हुँ,” सापकोटाले भन्नुभयो ।

सापकोटालाई उहाँकी श्रीमती चित्रकुमारी र घरपरिवारका अन्य सदस्यले सहयोग गर्दै आउनुभएको छ । पाँच जनाले रोजगारी पाएका छन् । तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

“बिक्री गर्न कुनै समस्या छैन,” उहाँले भन्नुभयो । सापकोटाले कृषि फार्मलाई व्यवस्थित र आधुनिकीकरण गर्न हालसम्म रु २० लाख लगानी गर्नुभएको छ । व्यावसायिक कृषि तथा बजार आयोजना (प्याक्ट)ले रु दश लाख अनुदान उपलब्ध गराएको छ । रु पाँच लाख लगानीमा तयार हुने एउटा हाइटेक टनेलभित्र पाँच वर्षसम्म खेती गर्न सकिने सापकोटा बताउनुहुन्छ ।

सापकोटाले उत्पादन गरेको तरकारी बाग्लुङ, बेनी, कुष्मा, मुस्ताङसम्म बिक्री हुन्छ । राज्यले व्यावसायिक कृषिको विकासका लागि कृषि पेसाको प्रवद्र्धन गर्दै दिगो बजार व्यवस्थापन र गुणस्तरीय बीउ उपलब्ध गराउन आवश्यक रहेको सापकोटाको भनाइ छ ।

देशभर किसान आधुनिक प्रविधिको प्रयोग गरी कृषिको व्यावसायीकरणमा उन्मुख भएको कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन ललितपुरका सूचना अधिकारी नारायण न्यौपानेले बताउनुभयो । (वासुदेव पौडेल/सन्तोष गौतम) रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *