जामुनखाडीमा सवा दुई लाख पर्यटक आए

Post Date : June 7, 2016 | 3:14 pm

सुरुङ्गा (झापा), २५ जेठ । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको यस वर्ष दुई लाख ३५ हजार ३०० आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । यो गत वर्षको तुलनामा बढी हो ।

जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालनमा ल्याएको यो क्षेत्रको अघिल्लो आवमा दुई लाख २१ हजार तीन सय ८८ जना पर्यटकले अवलोकन गरेको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका कार्यालय सचिव अमर चौहानले बताउनुभयो ।

चालु आव २०७२/७३ को साउनदेखि वैशाखसम्म सिमसार क्षेत्र आएका पर्यटकका कारण रु ७० लाख ५९ हजार आर्थिक सङ्कलन भएको छ । अघिल्लो आवमा रु ४७ लाख ४७ हजार सात सय ६० मात्रै आर्थिक सङ्कलन भएको थियो ।

असुरक्षित वन्यजन्तुलाई संरक्षण गरेर राखिएको र सिमसार क्षेत्रलाई व्यवस्थित गर्दै लगिएका कारण यहाँ पर्यटक आवागमनमा वृद्धि भएको सामुदायिक वन समूहका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो । उहाँका अनुसार सिमसार क्षेत्र २६.५४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ दुर्लभ वन्यजन्तु (अजिङ्गर, गिद्ध, वन हुचिल, चित्तल, मृग, भालु, दुम्सी, कछुवा, चरी बाघ, पानीऔतलगायत २२ प्रजाति) लाई संरक्षण गरेर राखिएको छ । त्यस्तै सिमसार क्षेत्रमा नौका विहार, बाल उद्यान, मृगस्थली, झोलुङ्गे पुल, आकर्षक वनभोजस्थल भएका कारण पनि यहाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको समूहका अध्यक्ष गिरीले बताउनुभयो ।

जामुनखाडी सामुदायिक वन ४३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसलाई समूहले पाँच वटा ब्लकमा विभाजन गरेको र १ नम्बर ब्लकमा सिमसार क्षेत्र रहेको बताइएको छ । पछिल्लो समय जामुनखाडी सिमसार क्षेत्र पूर्वकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *