तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

Post Date : April 4, 2017 | 4:00 pm

रामपुर (पाल्पा), २२ चैत । रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्नुहुन्छ ।

उहाँ अहिले तरकारी बेचेर मासिक रु एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल हुनुभएको छ । करिब २५ वर्षसम्म भारतमा काम गरेर फर्कनुभएका भण्डारीले व्यावसायिक रुपमा तरकारीखेती गरेर जिल्लाकै नमुना कृषकका रुपमा चिनिनुहुन्छ ।

“जीवन जिउने आधार नै तरकारी खेती बनेको छ,” उहाँले भन्नुभयो– “यही व्यवसायबाट दाम र नाम मिलेको छ ।” जिल्लामै नमुना व्यावसायिक कृषकका रुपमा पहिचान बनाउन सकेकामा उहाँ खुसी हुनुहुन्छ ।

बाह्र वर्षअघि दुईवटा घिरौँलाको बोटबाट भण्डारीले व्यवसाय सुरु गर्नुभएको हो । अहिले उहाँले सात रोपनी जग्गामा व्यवसाय विस्तार गर्नुभएको छ । मेहनत र जाँगर भयो भने यथेष्ट आम्दानी गर्न कुनै समस्या नहुने भण्डारीको भनाइ छ ।

बेमौसमी तरकारीले बजारमा उचित मूल्य पाएपछि त्यसतर्फ बढी ध्यान दिएको भण्डारी बताउनुहुन्छ । तरकारी व्यवसायबाट दुई छोरीको पढाइ खर्च, विवाह खर्चका लागि आफूलाई कुनै समस्या नपरेको उहाँको भनाइ छ । अहिले उहाँले काँक्रा, लौका, घिरौँला, फर्सी जातका तरकारी लगाउनुभएको छ । यतिबेला उहाँलाई काँक्रा बेच्न भ्याइनभ्याई छ ।

“बेमौसमी उत्पादन भएकाले बजारमा अत्यधिक मात्रामा काँक्रा बिक्री भइरहेको छ,” भण्डारीले भन्नुभयो । आफूमा सीप, जाँगर र मेहनत छ भने घरमै दैनिक दुई/तीन घन्टा काम गरेर पनि हजारौँ रुपैयाँ कमाउन सकिने उदाहरणीय पात्र बन्नुभएको छ कृषक भण्डारी । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *