धौलागिरि पर्यटन पदमार्ग निर्माण

Post Date : June 10, 2016 | 3:17 pm

म्याग्दी, २८ जेठ । मुदी गाविसमा धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।

जिल्ला विकास समितिले रु २५ लाख उपलब्ध गराएपछि स्थानीयवासीले उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरेका हुन् । धाौलागिरिको आरोहण र भम्रणमा जाने पर्यटकको सुविधाका लागि विनियोजन भएको उक्त बजेटबाट यस वर्ष मुदीको खाम्लामा रु दुई लाख, मुदी गाउँदेखि दिवाघाटसम्म रु १५ लाख र बगरबाट इटाली क्याम्पसम्म रु आठ लाख बजेटबाट नयाँ पदमार्ग निर्माण तथा पुरानो पदमार्गको स्तरोन्नती गरिएको धौलागिरि पर्यटन पदमार्ग निर्माण समितिका अध्यक्ष हस्तबहादुर पुनले जानकारी दिनुभयो ।

जिविसको आर्थिक तथा प्राविधिक सहयोगमा मुदीका बासिन्दाद्वारा थप श्रमदान गरेर पदमार्ग निर्माण गरिएको हो । दिवाघाट र बगरदेखि इटाली क्याम्प क्षेत्रको पदमार्ग निर्माणको लागि स्थानीयवासी जङ्गलमै बास बसेर काम गरेको अध्यक्ष पुनले बताउनुभयो । यस वर्षको बजेटबाट खाम्लामा ३०० मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ ।

त्यस्तै मुदी गाउँदेखि दिवाघाटसम्म ५२० मिटर ढुङ्गाको सिँढी निर्माण गरी पदमार्ग निर्माण गरिएको जिविसका सव इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । यस अघि भूकम्प र बाढीले पदमार्ग भत्काएको थियो । पदमार्ग मर्मत भएपछि पर्यटकलाई राहत मिलेको दोभानमा होटल व्यवासय गर्दैआउनुभएका बमबहादुर पुन बताउनुहुन्छ ।

इटालीदेखि स्विस क्याम्पसम्मको करिब तीन किलोमिटर पदमार्ग निकै जोखिमपूर्ण रहेको छ । पर्यटक र भरिया पदमार्ग हुँदै अगाडी बढ्न सक्ने अवस्था नरहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *