नबिल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

Post Date : July 20, 2017 | 5:06 pm

लमजुङ, ५ साउन । नबिल बैंकले वित्तीय साक्षरताको बारेमा जानकारी गराउने र आर्थिक समावेशिकरणलाई अभिवृद्धि गर्ने हेतुले राष्ट्रब्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेको छ । बैंकको ३३ औं वार्षिकोत्सवको अवसर पारेर यो अभियानलाई लम्जुङको बेसिशहरबाट आर्थिक साक्षरता सम्बन्धी सचेतना ऱ्याली, सडक नाटक तथा स्थानीय तहमा सफल भएका साना ब्यवसायीहरुका बीचमा अन्तरक्रिया कार्यक्रम जस्ता तीनवटा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरी गत हप्ताबाट शुरुवात गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । उक्त कार्यक्रमहरु फिनलिट नेपालसँगको सहकार्यमा गरिएको थियो । बैंकका बेसिशहर शाखाका शाखा प्रवन्धक अमृतराज उप्रेती र फिनलिट नेपालका प्रकाश कोइरालाले यी कार्यक्रमहरुको संयोजन गर्नु भएको जनाएको छ ।

नबिल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

विभिन्न सरकारी निकायका कर्मचारीहरू, सुरक्षाकर्मी, समाजसेवी, स्थानिय बासिन्दा तथा विद्यार्थीहरु समेतको सहभागितामा बैंकिङ्ग विषयमा सचेतना फैलाउने सन्देश राखिएका प्लेकार्डहरु प्रदर्शन गरी आयोजना गरिएको ऱ्यालीलाई प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले उद्घाटन गर्नु भएको थियो । उक्त ऱ्याली मनाङ चौताराबाट सेरा चोक हुँदै नबिल बैंकसम्म पुगेको थियो । त्यसपछि नोट वा सिक्काहरुलाई कसरी सफा राख्ने, बैंकिङ्ग कारोवार गर्ने बानीको विकास कसरी गर्ने, बैंकमा रकम जम्मा गर्दाका फाइदाहरु के के हुन्, अनावश्यक रकम खर्च गर्ने खराब बानीलाई कसरी नियन्त्रण गर्ने, एटिएम कार्डको प्रयोग कसरी गर्ने आदि जस्ता विषयमा सन्देश प्रवाह गर्ने खालको मनोरञ्जनात्मक सडक नाटक कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस पश्चात नबिल बैंकबाट कर्जा लिएर छोटो समयमा आफ्नो व्यवसायलाई धेरै गुणा विस्तार गर्न सफल हुनुभएका एक सफल स्थानिय व्यवसायी मनमोहन अधिकारीले व्यवसाय विस्तारमा बैंकको भूमिका र सहयोगको बारेमा आफ्नो अनुभवलाई सहभागीहरु समक्ष बाँड्नु भएको थियो । यो कार्यक्रमलाई आमन्त्रितहरु सँगको अन्तरक्रियात्मक कार्यक्रमको रुपमा सञ्चालन गरिएको थियो जसमा आर्थिक अनुशासन कसरी कायम गर्ने, साना व्यवसायको स्थापना तथा विस्तारमा बैंकको कर्जालाई कसरी सदुपयोग गर्ने भन्ने सम्बन्धमा निकै महत्त्वपूर्ण सुझाव तथा सल्लाहहरु प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *