नेपाल आयल निगमले चुक्ता पूँजी र भण्डारण क्षमता बढाउने

Post Date : August 4, 2016 | 11:06 am

काठमाडौं, २० साउन । नेपाल सरकारले नेपाल आयल निगमको साविकको चुक्ता पूँजी ९ करोड ६७ लाख रुपैयाबाट बढाएर १० अर्ब रुपैया पुरयाउन लागेको छ । पेट्रोलियम तथा ग्यास कारोवार नियमन आदेश २०६९ अनुसार पेट्रोलियमका लागि कम्पनी संचालन गर्दा चुक्ता पूँजी कम्तीमा १० अर्ब रुपैया हुनु पर्ने उल्लेख छ । निजी क्षेत्रले पेट्रोलियम पदार्थ कारोवार गर्न जति चुक्ता पूँजी तोकिएको छ, निगमले पनि त्यति नै चुक्ता पूँजी पुरयाउने भएको हो ।

हाल निगमको शेयर पूँजीमा आपूर्ति मन्त्रालयको ५ करोड ९४ लाख, अर्थ मन्त्रालयको १ करोड ८९ लाख, आपूर्ति व्यवस्था विभागको १ करोड ६७ लाख, नेशनल ट्रेडिङ लिमिटेडको ७ लाख ५० हजार, राष्ट्रिय बिमा संस्थाको ४ लाख ५० हजार, नेपाल बैंकको २ लाख २५ हजार र राष्ट्रिय वाणिज्य बैंकको १ लाख ५० हजार रुपैया लगानी रहेको छ ।

निगमले सर्वसाधारणका लागि पनि ३० प्रतिशत शेयर जारी गर्ने तयारी गरिरहेको छ । कम्पनी ऐन २०६३ अनुसार सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने हुन्छ । निगमले पुराना शेयरधनीलाई ५५ प्रतिशत, रणनीतिक साझेदारलाई १५ प्रतिशत र सर्वसाधारणलाई ३० प्रतिशत शेयर दिने तयारीमा लागेको छ ।

त्यस्तै निगमले थानकोट डिपोमा रहेको ४२ लाख लिटरको मट्टितेल राख्ने ट्याङ्कलाई पेट्रोलमा परिणत गर्न लागेको छ । बजारमा मट्टितेलको खपत घटेपछि थानकोट डिपोस्थित दुई मट्टितेल ट्याङ्कलाई पेट्रोल भण्डारण गर्ने ट्याङ्क बनाउन लागेको हो ।

अहिले निगमसँग ५ हजार १ सय ७५ किलोलिटर पेट्रोल, ४२ हजार ३ सय ८५ किलोलिटर डिजेल, १४ हजार ८ सय ५९ किलोलिटर हवाई इन्धन र ८ हजार ५ सय किलोलिटर मट्टितेल स्टक राख्ने क्षमता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *