नेपाल टेलिकमद्वारा आफ्ना सेवाहरूको प्रगति विवरण प्रस्तुत

Post Date : April 25, 2017 | 3:35 pm

काठमाडौँ, १२ वैशाख । नेपाल टेलिकमले आज एक पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्दै आइरहेका सेवाहरूको प्रगति विवरण प्रस्तुत गरेको छ ।

अब एउटै काउन्टरबाट एउटै सिष्टम प्रयोग गरी सिडिएमए, जिएसएम, वाईम्याक्स, FTTH र ADSL सेवाको नयाँ लाइन जडान, महसुल संकलन लगायतका ग्राहक सेवाका कार्यहरु गर्न सकिने जनाएको छ । कम्पनीको अप्टिकल फाइवर सञ्जालमा कुल ६६ जिल्ला आवद्ध हुने कुरासमेत जानकारी गराएको छ । त्यस्तै रारा ताल आसपासका साथै रारा (ताल्चा) विमानस्थल क्षेत्रमा थ्रीजि सेवा पुगेको र नेपाल सरकारका वेबसाइटहरु यस कम्पनीको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने भएको छ । निःशुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको सूची कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको जनाएको छ । उक्त कार्यक्रममा प्रेषित प्रेस विज्ञप्तिको पूर्णपाठ तल हेर्न सकिन्छ –


प्रेस विज्ञप्ति

फरक–फरक सिष्टमबाट बिलिङ्ग तथा ग्राहकसेवा हँुदै आएका कम्पनीका बिभिन्न सेवाहरुलाई एउटै सिष्टम भित्र ल्याउने परियोजना अन्तर्गत २०७४ बैशाख १० गते देखि FTTH र ADSL सेवाको बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिष्टम (CRTB System) बाट गर्न थालिएको छ । यस अघि नै सिडिएमए, जिएसएम र वाईम्याक्स सेवालाई कन्भर्जेन्ट बिलिङ्ग सिष्टममा लगिसकिएको थियो भने PSTN लाई CRTB System मा Migration गर्नको लागि आवश्यक तयारी भैरहेको छ । केही बर्ष अघि देखि नेपाल टेलिकमले सबै सेवाहरुको लागि एउटै कन्भर्जेन्ट बिलिङ्ग तथा कस्टमर केयर सिष्टम जडान गरिरहेकोमा अव एउटै काउन्टरबाट एउटै सिष्टम प्रयोग गरी सिडिएमए, जिएसएम, वाईम्याक्स, FTTH र ADSL सेवाको नयाँ लाइन जडान, महसुल संकलन लगायतका ग्राहक सेवाका कार्यहरु गर्न सकिनेछ । यसले कार्यालयको कार्य सम्पादनमा छिटोछरितोपना आउनुका साथै ग्राहक सेवासमेत सहज हुने बिश्वास लिईएको छ ।

कम्पनीको अन्डरग्राउण्ड अप्टिकल केबुल, ADSS फाइवर र नेपाल विद्युत प्राधिकरणबाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउण्ड वायर (OPGW) समेत गरी हाल कम्पनीको अप्टिकल फाइवर सञ्जालमा ५५ जिल्ला समेटिएकोमा सो सञ्जाल थप विस्तारका लागि पहाडी जिल्लाका एक्सचेन्ज, बिटिएस, रिपिटरहरुलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ ADSS फाइवर आयोजनाको कार्य अघि बढाइएको छ । यस आयोेजनाको उद्देश्य कुल एक हजार कि.मि. को मार्गमा अप्टीकल फाइबर नेटवर्क विस्तार गर्ने रहेको छ । यो नेटवर्कले देशका विभिन्न दुर्गम तथा विकट स्थानहरुमा समेत भ्वाइस, डाटा तथा भिडीयो सेवा प्रदान गर्न सकिने गरी सूचना मार्गको बिस्तार हुनेछ । यो नेटवर्कले भोजपुर, संखुवासभा, खोटाङ्ग, रामेछाप, दोलखा, मुस्ताङ्ग, दैलेख, डडेलधुरा, डोटी, बैतडी, अछाम र अन्य स्थानहरुलाई कम्पनीको विद्यमान अप्टिकल फाइबर केवल संरचनामा आवद्ध गर्ने छ । यस आयोजनाको समापन पश्चात कम्पनीको अप्टिकल फाइवर सञ्जालमा कुल ६६ जिल्ला आवद्ध हुनेछन् ।

नेपाल टेलिकमले २०७४ बैशाखको पहिलो हप्ताबाट मुलुककै एक प्रमुख पर्यटकीय स्थल मुगु जिल्लाको रारा ताल क्षेत्रमा थ्रीजि सेवा संचालनमा ल्याएको छ । यसबाट सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सूचना तथा सञ्चारको पहुँचमा सहजता भएको छ । सो थ्रीजि सेवाबाट रारा ताल आसपासका साथै रारा (ताल्चा) विमानस्थल क्षेत्रमा सेवा पुगेको छ ।

नेपाल टेलिकमले २०७४ बैशाख एक गते देखि नेपाल सरकारबाट सञ्चालित ‘.gov.np’ domain का करिब ५५० वटा वेबसाइटहरु यस कम्पनीका जीएसएम मोबाइल सेवाबाट निःशुल्क उपभोग गर्र्न पाउने गरी उपलब्ध गराएको छ । नेपाल सरकारका यी वेबसाइटहरु यस कम्पनीको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने भएको छ । निःशुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको सूची कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको छ ।

यसबाट नेपाल सरकारको नीति बमोजिम सरकारका सूचना सामग्रीहरुमा सर्वसाधारणको पहँुचमा सहजता आउने नेपाल टेलिकमले विश्वास लिएको छ ।

नेपाल टेलिकमले यस अघि नै आफ्नो website : www.ntc.net.np, recharge.ntc.net.np र meet.ntc.net.np GSM Mobile बाट निःशुल्क हेर्न सकिने व्यवस्था गरिसकेको छ ।

नेपाल टेलिकमले आफ्नो वेबसाइट (www.ntc.net.np) लाई समय सापेक्ष परिमार्जन गर्दै लाने क्रममा २०७३ चैत्र ३१ गते देखि परिमार्जन गरेको छ । प्रयोगकर्ताहरुको सहजताका लागि वेवसाइटमा अपलोड गरिने सामग्रीहरु अंग्रेजी भाषाको साथै नेपाली भाषामा पनि उपलब्ध गराइएको छ । कम्पनीका सेवा सुविधासंँग सम्वन्धित सूचना, तथ्यांक आदि अंग्रेजी तथा नेपाली भाषामा प्रभावकारी रुपमा उपलब्ध गराउदै जाने योजना रहेको छ ।

नेपाल टेलिकमको साविक वेबसाइट परम्परागत रुपमा Desktop/Laptop बाट हेर्ने प्रयोजनका लागि तयार गरिएकोमा हाल मोबाइल मार्फत Internet प्रयोग गर्ने क्रम अत्याधिक बढेकोले Responsive Design (Desktop, Laptop / Mobile मैत्री) को अवधारणा अन्तर्गत रहेर नयाँ वेवसाइट संचालनमा ल्याइएको छ । यसबाट कम्पनीको वेवसाइट प्रयोग गर्न अझ सहज हुने विश्वास गरिएको छ ।

यसैगरी ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल टेलिकमले मोबाइलबाट *1415# डायल गरी नाइट डाटा प्याक, फेशबुक प्याक, स्पेशल डाटा प्याक, स्मल डाटा प्याक, नियमित डाटा प्याक र न्यू इएर डाटा प्याक लिन सकिने सुविधा समेत उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *