फलाम, चुनढुङ्गा र तामाको अन्वेषण

Post Date : June 26, 2016 | 10:49 pm

काठमाडौँ, १२ असार । खानी तथा भूगर्भ विभागले थप १५ ठाउँमा तीन खनिज पदार्थ रहेको पत्ता लगाएको छ ।

विभागका उपसचिव जयराज घिमिरेले सल्यान, तनहुँ, उदयपुर, धादिङ जिल्लाका १५ ठाउँमा फलाम, चुनढुङ्गा र तामा पत्ता लगाएको जानकारी गराउनुभयो । “खनिज पदार्थको अन्वेषणका क्रममा हामीले फलाम, चुनढुङ्गा र तामा थप १५ ठाउँमा रहेको पत्ता लगाएका छौँ” –उहाँले भन्नुभयो, “ती खनिज पदार्थलाई उत्खनन गरी प्रयोगमा ल्याइनेछ ।”

सल्यान, पाल्पा, उदयपुरका विभिन्न ठाउँमा चुनढुङ्गा, तनहुँमा फलाम र धादिङमा तामाको अन्वेषण गरिएको छ । यसअघि विभागले नेपालका विभिन्न जिल्लाका ४०० ठाउँमा विभिन्न खनिज पदार्थ रहेको अन्वेषण गरेको थियो । विभागले अन्वेषण गरेपछि उत्खननका लागि निजी कम्पनीलाई अनुमति दिने गर्दछ । घिमिरेले ती ठाउँमा खनिज पदार्थको गुण र परिमाण पनि यकिन गरिएको जानकारी दिनुभयो ।

“खनिज पदार्थ कुन गुणस्तरीय र कति परिमाणमा रहेका छन् भन्ने हामीले अध्ययन गरयौँ”– उहाँले भन्नुभयो, “प्रयोगमा ल्याउन सक्ने गुणस्तर र धेरै परिमाणको रहेको पायाैँ ।” घिमिरेले ती ठाउँबाट खनिज पदार्थ उत्खननका लागि निजी कम्पनीलाई प्रस्तावसमेत आह्वान गरिएको जानकारी गराउनुभयो ।

यसैगरी, विभागले नवलपरासी र बझाङका विभिन्न ठाउँमा फलामको अध्ययन गरिरहेको छ । “नवलपरासी र बझाङका केही ठाउँमा फलाम रहेको थाहा भएको र अहिले हामी ती ठाउँमा रहेको फलामको अध्ययनका क्रममा रहेका छाैँ ।” उहाँले चाँडै नै अन्वेषण गरेर ती ठाउँमा रहेका फलामको गुण र परिमाण पत्ता लगाउने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *