माछाबाट वार्षिक रु पच्चीस करोड आम्दानी

Post Date : June 9, 2016 | 3:14 pm

बुटवल, २७ जेठ । रुपन्देहीको दयानगर गाविसका किसानले माछा बेचेर वार्षिक रु २५ करोड आम्दानी गरेका छन् ।

पाँच सय ५० बढी व्यावसायिक माछापालक किसान रहेको उक्त गाविसबाट वार्षिक एक हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । किसानले उत्पादन गरेका माछा दैनिक छ क्विन्टलका दरले बुटवल, भैरहवा, पाल्पा, पोखरा, काठमाडौँ निर्यात गरिन्छ ।

कृषि विकास कार्यालयका अनुसार परम्परागत रुपमा अन्नबाली गर्ने किसानले अभियानमुखी माछापालन थालेपछि जिल्लाको दयानगर गाविस माछापालनका लागि देशमै नमुना बनेको छ । करिब ३२ वर्षदेखि माछापालन थालिएको दयानगरमा सात वर्ष अघि अभियानमुखी माछा उत्पादन कार्यक्रम थालिएको हो ।

दयानगरको १६७ हेक्टर क्षेत्रफलमा एक हजार २०० पोखरी निर्माण गरी माछापालन गरिएको छ । यहाँ रहु, नैनी, सिल्भर कार्प, कमन कार्प, बिगहेड कार्प, ग्रास कार्पलगायतका माछाका प्रजाति पालिएको छ । प्रशस्त जलाशय भएको यो क्षेत्रमा छ मेट्रिक टन माछा उत्पादन हुन्छ । माछापालनलाई सहज बनाउन किसानले १२ वटा कृषक समूह र सहकारी संस्था खोलेका छन् ।

एक कट्ठादेखि तीन बिगाहासम्मका पोखरी बनाइएका छन् । प्रतिकट्ठा ३०० माछाका भुरा एकै जातका र ४०० भुरा विभिन्न जातका मिलाएर राख्ने गरिन्छ । भुरा पोखरीमा राखेपछि तीन–चार महिनामै खान योग्य हुन्छन् । भुरा हालेको छ महिनापछि मात्र माछा बिक्री गरिन्छ ।

कृषि विकास कार्यालय र मत्स्य विकास केन्द्रको समन्वयमा कृषक समूह र सहकारीले वर्षभरि नै माछा उत्पादन र व्यावसायिकतामा सहयोग गर्ने गरेको स्थानीय तथा मत्स्य व्यवसायी सङ्घका अध्यक्ष पुण्यप्रसाद चौधरीले बताउनुभयो । दयानगर गाविसका विभिन्न १७ वटा कृषक समूहमा आबद्ध भएका ५६० घरधुरीका तीन हजार ३६० जना यस व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी भएका जलदेवी मत्स्य विकास सहकारी संस्थाका प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यहाँका पोखरीबाट हरेक मौसममा दैनिक १० क्विन्टलसम्म माछा निकासी हुने गरेको र प्रतिघरधुरी मासिक रु दुई लाखसम्म आम्दानी हुने गरेको छ । गाउँमै दाना उद्योग स्थापना भएको छ । पर्यटकको आगमन बढेपछि यहाँ होमस्टे (घरवास) र मत्स्यपालन केन्द्र खुलेका छन् ।

घर घरमा माछापालन हुन थालेपछि दयानगरको छपियालाई मत्स्य पर्यटन केन्द्र बनाउन अभियान थालिएको छ । अभियानअन्तर्गत पर्यटकलाई माछा पोखरीमा घुमाउने, माछासँग बल्छी खेल्न दिने, माछाका परिकार खुवाउने गरिएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *