राजमार्गका अधिकाशं पक्की पुल जीर्ण बन्दै

Post Date : December 13, 2016 | 3:28 pm

नवलपरासी, २८ मङ्सिर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा रहेका अधिकांश पक्की पुल जीर्ण बन्दै गएका छन् ।

पुल थोत्रो भएको तर समयमै मर्मत हुन नसक्दा थप जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । नवलपरासीको बहुलाहा, जयश्री, अरुणखोला, डन्डाखोला र लोकाहा खोलाका पुल थोत्रिरहेका छन् । कति बेला कुन पुल के हुन्छ भन्ने त्रास छ । ती पुल समयमा मर्मत नहुँदा भत्कने अवस्थामा पुगेका छन् ।

स्टिलका अधिकांश पुल कमजोर अवस्थामा छन् । धेरै पुलको आयु खस्किसकेको छ । पुलमा प्रयोगमा आउने स्टिल विशेष खालको भएकाले लन्डनबाट खरिद गर्नुपर्ने आवश्यकता छ ।

विसं २०४० मा राजमार्ग निर्माण गर्दै गर्दा बनाइएका तीपुलको मर्मत सुधार गर्नुपर्ने बेला भएको प्राविधिक बताउँछन् ।

राजमार्ग क्षेत्रमा बनाइने यस्ता पुलको औसत आयु ४० देखि ५० वर्ष भए पनि स्टिल ब्रिजमा आधारित पुल अहिले भाँचिन थालेका छन् । अरु पुल पनि भाँचिने विज्ञको भनाइ छ ।

सडक डिभिजन कार्यालय बुटवलले समयमै पुलको मर्मतमा चासो नदिँदा पुलको अवस्था कमजोर हुँदै गएको हो । महाभारत र चुरे क्षेत्रबाट बग्ने खोलामा ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सावधानी नअपनाउँदा पुलको अवस्था कमजोर बनेको हो ।

बेला बेलामा सामान्य रुपमा टालटुल पारेर मात्र मर्मत गरिएकाले पुल जीर्ण हँुदै गएको स्थानीयवासीको आरोप छ । बढी भारका कारण राजमार्गका अधिकांश पुल कमजोर भएको प्राविधिकको भनाइ छ ।

सडक डिभिजन कार्यालय बुटवलका अनुसार पुल जीर्ण रहेको अवस्थामा १८ टनभन्दा बढी भार बोक्न हँुदैन तर यहाँ४० टनसम्म भार बोकिने र त्यसलाई रोक्न प्रहरी प्रशासनले कडाइ नगर्दा पुल भाँचिने गरेको छ । कतिपय पुल साँघुरा भएका कारण ठोक्किँदा कच्ची हुने गरेका छन् ।

सडक विभाग, पुल आयोजनाले दुई वर्षअघि गरेको अध्ययनपछि बुटवल–नारायणगढ सडक खण्डका ४२ पुलमध्ये १२ फलामे पुल जोखिममा रहेको र तत्काल मर्मत सम्भार गर्नुपर्ने भनी प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको कार्यान्वयन भने भएको पाइएको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *