रु नौ अर्बको पशुजन्य वस्तु उत्पादन

Post Date : July 28, 2016 | 3:45 pm

इलाम, १३ साउन । आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु नौ अर्बको पशुजन्य वस्तुको उत्पादन भएको छ ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार दूध, मासु, अन्डालगायतका वस्तु उत्पादन भएको हो । रु चार अर्ब २५ करोड ४६ लाख ७० हजारको दूध उत्पादन भएको छ । गाई र भैँसीको वार्षिक रु एक लाख २१ हजार ५६२ मेट्रिक टन दूध उत्पादन भएको छ ।

उत्पादित दूधमध्ये ३६ हजार ५७३ मेट्रिक टन जिल्ला बाहिर निकासी भएको छ । गत आवमा रु तीन अर्ब ८३ करोड ५० लाखको मासुको उत्पादन भएको थियो । यहाँ खसी, राँगा, बङ्गुर, कुखुराबाट नौ हजार पाँच सय ८७ मेट्रिक टन मासु उत्पादन भएको कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले बताउनुभयो ।

यसैगरी रु ३८ करोड छ करोड ६६ लाख २० हजार बराबरको अन्डा उत्पादन भएको छ । चिज, घ्यू, छुर्पी, ललीपप र पनिर गरेर आठ लाख ६१ हजार ४६९ किलो दूधजन्य परिकारको उत्पादन भएको हो ।

रु सत्र करोड राजस्व सङ्कलन

आर्थिक वर्ष २०७२/७३ मा करदाता सेवा कार्यालयले रु १७ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले लक्ष्यभन्दा रु ४६ लाख बढी राजस्व सङ्कलन गरेको हो । करदाता सेवा कार्यालयका प्रमुख अनमोल दाहालका अनुसार सबैभन्दा बढी मूल्य अभिवृद्धि करबापत रु आठ करोड ४४ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा राजस्व रकममा २९ प्रतिशतले वृद्धि भएको छ । आव २०७१/७२ मा रु १३ करोड ३६ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो । जिल्लामा चार वर्षअघि कार्यालय स्थापना भएको थियो भने हाल करदाता १० हजार ५०० रहेका बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *